मध्यपूर्वमा बढ्दो तनाब, बिश्व बजार चिन्तामा

मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका र क्षेत्रीय शक्तिहरूबीचको तनाव खतरनाक मोडमा पुगेको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध अझ फैलिने सङ्केत देखाएका छन् भने मानव क्षति, ऊर्जा सङ्कट र कूटनीतिक टकराव एकैसाथ बढिरहेका छन् ।

 

इजरायलको उत्तरी सहर हाइफामा इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । सात तले आवासीय भवनमा सीधा प्रहार हुँदा भवन आंशिक रूपमा ढलेको र भग्नावशेषमा हराइरहेका अन्य दुई जनाको खोजी भइरहेको इजरायली अग्नि तथा उद्धार सेवाले जनाएको छ । यस आक्रमणसँगै इजरायलले पनि इरानको राजधानी तेहरानमा ‘शासन लक्षित’ आक्रमणको शृङ्खला सञ्चालन गरेको पुष्टि गरेको छ । इरानी सञ्चारमाध्यमहरूले तेहरानका विभिन्न आवासीय क्षेत्रमा विस्फोट भएको र केही स्थानमा ग्यास आपूर्ति अवरुद्ध भएको बताएका छन् ।

यसैबीच, इरानले नागरिक संरचनामाथि आक्रमण दोहोरिए अझ ‘विनाशकारी’ जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । खातम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ताले आगामी चरण अझ व्यापक हुने सङ्केत दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालन नगरे नागरिक पूर्वाधारमाथि कडा आक्रमण गर्ने चेतावनी दोहोर्‍याउँदै समयसीमा २४ घण्टा थप गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत पुल र विद्युत् संरचनामाथि आक्रमण गर्ने धम्की दिनुभयो भने इरानका संसदीय नेतृत्वले यस्तो कदमले सम्पूर्ण क्षेत्र जल्न सक्ने प्रतिक्रिया दिएको छ ।

द्वन्द्व क्षेत्र विस्तार हुँदै खाडी मुलुकहरूसम्म पुगेको छ । कुवेत र संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोन आक्रमणहरू विफल पारिरहेको बताएका छन् । यसैबीच, इरान समर्थित लेबनानी समूह हिजबुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार पुनः सुरु गरेपछि लेबनान पनि युद्धमा गहिरिँदै गएको छ ।

लेबनानमा इजरायली आक्रमणले ठूलो मानवीय क्षति पुर्‍याएको छ । आइतबार मात्र कम्तीमा १५ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन् । बेरुतमा पाँच जनाको ज्यान गएको, पूर्वी क्षेत्रमा रहेको ऐन सादेहमा तीन जनाको मृत्यु भएको तथा दक्षिणी सहर कफर हट्टामा चार वर्षीया बालिकासहित सात जनाको ज्यान गएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

युद्धको प्रभाव ऊर्जा बजारमा पनि स्पष्ट देखिएको छ । विश्वव्यापी आपूर्ति जोखिमका कारण कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ । नर्थ सी ब्रेन्ट र अमेरिकी वेस्ट टेक्सास इन्टरमिडियेट दुवैको मूल्य १० प्रतिशतभन्दा माथि उक्लिएको छ, जसले विश्व अर्थतन्त्रमा थप दबाब सिर्जना गर्ने सङ्केत गरेको छ । यस्तै, ओपेक प्लसले मे महिनादेखि दैनिक दुई लाख छ हजार ब्यारेल उत्पादन वृद्धि गर्ने निर्णय गरे पनि हालैका आक्रमणले क्षतिग्रस्त ऊर्जा संरचना मर्मत गर्न समय लाग्ने चेतावनी दिएको छ ।

सैन्य मोर्चामा अमेरिका पनि प्रत्यक्ष रूपमा सक्रिय देखिएको छ । खसालिएको एफ–१५ लडाकू विमानका एक एयरम्यानलाई ‘साहसी’ उद्धार अभियानमार्फत जिवितै फेला पारिएको अमेरिकी पक्षले जनाएको छ । उक्त अभियानमा दर्जनौँ अमेरिकी विमान संलग्न भएको र एयरम्यान गम्भीर घाइते रहेको बताइएको छ । तर इरानले भने अमेरिकी कारबाही पूर्ण रूपमा असफल भएको दाबी गरेको छ । अमेरिकी विशेष बलहरू इरानी भूमिमा गहिरो प्रवेश गरेको र उद्धारका क्रममा प्रयोग गरिएका दुई विमान नष्ट गर्नुपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसै क्रममा दक्षिणपश्चिमी इरानस्थित कासिम सुलेमानी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिका–इजरायलले संयुक्त हवाई आक्रमण गरेको इरानी सरकारी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

धार्मिक र मानवीय पक्षमा पनि तनाव बढेको छ । पोप लियो चौधौँले आफ्नो पहिलो इस्टर सन्देशमार्फत युद्ध विस्तार गर्न सक्ने शक्तिहरूलाई शान्तिको बाटो रोज्न आग्रह गर्नुभएको छ । उहाँले हिंसाप्रति बढ्दो उदासीनताप्रति चिन्ता व्यक्त गर्दै हजारौँ मानिसको मृत्युमा विश्व समुदाय संवेदनशील हुनुपर्ने बताउनुभयो । यता, इस्टरका अवसरमा इजरायली सुरक्षा बलले पूर्वी जेरुसेलमस्थित पवित्र सेपुल्चर चर्चमा प्रवेशमा प्रतिबन्ध लगाएपछि धार्मिक गतिविधि समेत प्रभावित भएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण