काठमाडौं ,२९ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भएको छ ।
शुक्रबार नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्ती वर्ष तथा वार्षिक साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो संस्था नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कूटनीतिक नियोग तथा विकास साझेदारहरूसँग गर्दै आएको सहकार्य प्रशंसनीय रहेको उल्लेख गर्नु भयो ।
‘मुलुकको आर्थिक समृद्धि उद्योग व्यवसायको प्रवद्र्धन लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो यस संस्थाले निरन्तर योगदान प्रसंसनीय छ । नेपाल चेम्बर अफ कमर्सले सरकार, सरोकारवाला निकाय, कुटनीतिक नियोग तथा विकास साझेदारहरुसँग गर्दै आएको सहकार्य र खेलेको भूमिका सराहनीय छ,’ उहाँले भन्नु भयो ।
उहाँले नीति निर्माणमा वस्तुपरक विश्लेषण, अर्थतन्त्रका चुनौतीहरूमा स्पष्ट धारणा तथा व्यवहारिक सुझावमार्फत चेम्बरले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताउनु भयो ।
कोभिड महामारीको प्रभाव, आपूर्ति शृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्र प्रभावित भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको समन्वय अझ सुदृढ हुनुपर्नेमा जोड दिनु भएको हो ।
उहाँले भन्नु भयो ‘नीति निर्माणमा बस्तुपरक विश्लेषण अर्थतन्त्रका चुनौतीहरुमा स्पष्ट धारणा र व्यवहारिक सुझावहरु प्रदान गर्दैै यस संस्थाले आफ्नो भूमिका प्रभावकारी बनाउँदै लगेको छ । कोभिड महामारीको प्रभाव, आपुर्ति श्रृङखलामा आएको अवरोध, उत्पादन तथा व्यपारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्रलाई प्रभाव पारेको छ । यस्तो अवस्थामा निजी क्षेत्र र सरकारबीचको समन्वय, सहकार्य अझै सुदृढ हुन आवश्यक छ ।’
उहाँले राजनीतिक स्थिरता नै आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्ने बताउनु भयो ।
‘राजनीतिक स्थिरता, आर्थिक समृद्धिको आधार हो । स्थिर सरकार, स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ,’ उहाँले भन्नु भयोे ।









