झापा,२ वैशाख । सरकारले पूर्व–पश्चिम लोकमार्गको नाम फेरि पुरानै ‘महेन्द्र राजमार्ग’ कायम गर्ने प्रस्ताव अघि सारेको छ।
मंगलबार सार्वजनिक गरिएको सुशासन सुधारका लागि तयार पारिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा यस्तो प्रस्ताव समेटिएको हो।
पूर्वाधार विकास शीर्षकअन्तर्गत सरकारले स्पष्ट भनेको छ। ‘महेन्द्र राजमार्गलाई आगामी तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाईवे मापदण्डअनुसार स्तरोन्नति गरिनेछ।’
गणतन्त्र स्थापना भएपछि यो ऐतिहासिक सडकको नाम परिवर्तन गरी ‘पूर्व–पश्चिम लोकमार्ग’ राखिएको थियो। अब भने सरकार पुरानै नाम फर्काउने तयारीमा देखिएको छ।









