सिरुवाको रौनकमा कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर,२ वैशाख। नयाँ वर्षको सुरुवातसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् । झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ भने प्रदेश सरकारले दिएको सार्वजनिक बिदाले पर्वको रौनक झन् बढाएको छ ।

 

राजवंशी, थारु, ताजपुरिया, धिमाल, मेचे, गनगाई, माझी लगायतका आदिवासी समुदायहरू परम्परागत विधि, पूजा–पाठ र आपसी सद्भावसहित सिरुवा मनाइरहेका छन् । नयाँ वर्षसँगै सुरु हुने यो पर्व केवल मनोरञ्जनमा सीमित नभई प्रकृति, शरीर र समाजबीच सन्तुलन कायम गर्ने गहिरो सन्देश बोकेको सांस्कृतिक अभ्यासका रूपमा स्थापित छ ।

 

जुरशीतलका नामले समेत परिचित सिरुवा तीन दिनसम्म मनाइने पर्व हो। पहिलो दिन ‘पानी सिरुवा’मा गाउँ–बस्तीहरू बिहानैदेखि पानी छ्याप्ने, हाँसो–ठट्टा गर्ने र शुभकामना साटासाट गर्ने गतिविधिले भरिन्छन् । झापाको गौरिगञ्जदेखि मोरङ र सुनसरीका विभिन्न बस्तीहरूमा युवादेखि वृद्धसम्म सहभागी बनेका दृश्यहरूले सामुदायिक एकताको सन्देश दिएका छन् ।

 

दोस्रो दिन ‘काद सिरुवा’ अर्थात् हिलो खेल्ने परम्परा बुधबार मनाइँदैछ। खेतबारी वा खुला स्थानमा जम्मा भएर एकअर्कालाई हिलो छ्याप्ने चलनले पृथ्वीसँगको सम्बन्धलाई प्रतीकात्मक रूपमा झल्काउँछ। यसलाई शरीर शुद्ध गर्ने र स्वास्थ्यका लागि लाभदायक मानिने विश्वास पनि रहिआएको छ। तेस्रो दिन ‘रङ सिरुवा’सँगै पर्वको समापन हुन्छ। विभिन्न रङहरूको प्रयोग, सामूहिक नाचगान, बाजागाजा र स्थानीय परिकारले गाउँ–बस्तीहरू अझ रंगीन बन्ने गर्छन्। यस दिनलाई नयाँ वर्षलाई उल्लासपूर्ण स्वागत गर्ने अवसरका रूपमा लिइन्छ।

 

सिरुवा पर्व धार्मिक र सांस्कृतिक दृष्टिले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ। घरघरमा कुलदेवता र ग्रामदेवताहरूको पूजा गरिन्छ भने अग्रजहरूले परिवारका सदस्यलाई पानी राखेर ‘शीतलता र शान्ति’को आशीर्वाद दिने परम्परा अझै जीवित छ। महिलाहरूले घाटोसरी पूजा गर्ने चलन पनि निरन्तर रहेको छ। पर्वको अर्को विशेषता चुलो पूजा हो। वर्षमा एक दिन चुलोलाई विश्राम दिने मान्यताअनुसार बेलुकाको खाना नपकाइ दिनमै बनाइएको भोजन खाने चलनले श्रमप्रति सम्मान र प्रकृतिप्रति कृतज्ञताको सन्देश दिन्छ।

 

सिरुवासँगै पूर्वी तराईका विभिन्न स्थानमा मेला र महोत्सवहरूको चहलपहल पनि बढेको छ। झापाको कमल गाउँपालिका, मंगलबारे तथा मोरङको सुनवर्षी क्षेत्रमा नयाँ वर्षको पहिलो दिनदेखि नै स्थानीय परिकार, हस्तकला र सांस्कृतिक प्रस्तुति सहितका मेलाहरूले आकर्षण बढाएका छन्। यो पर्व नेपालभित्र मात्र सीमित छैन। भारतका आसाम, मेघालय, पश्चिम बंगाल र कोचबिहारसम्म फैलिएको समान सांस्कृतिक पृष्ठभूमिले सीमापारिको सम्बन्धलाई समेत सुदृढ बनाएको छ।

 

यसैबीच, कोशी प्रदेश सरकारले वैशाख २ गते बुधबार सार्वजनिक बिदा घोषणा गरेको छ। सरकारी कार्यालय, शैक्षिक संस्था र विभिन्न निकायहरू बन्द रहे पनि गाउँ–बस्तीहरू भने उत्सवमा रमाएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले सिरुवा (जुडशीतल) को अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव, मेलमिलाप र सांस्कृतिक एकताको सन्देश दिने उल्लेख गर्नु भएको छ्। बसन्त ऋतुको आगमन, नयाँ वर्षको सुरुवात र नयाँ आशाको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा सहिष्णुता र न्यानोपन फैलाउने विश्वास व्यक्त गरिएको छ।

 

उहाँले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता पर्वहरूले सामाजिक एकता सुदृढ बनाउने धारणा राख्दै प्रदेश सरकारले सबै समुदायको संस्कृति संरक्षणलाई प्राथमिकतामा राख्दै आएको बताउनु भएको छ। सिरुवा पर्वले पानी, माटो र रङजस्ता प्राकृतिक तत्वमार्फत मानिसलाई प्रकृतिसँग जोड्ने सन्देश दिँदै आएको छ। कोशी प्रदेशभर देखिएको उत्साहले यसको सांस्कृतिक जीवन्तता अझ दीर्घकालसम्म कायम रहने संकेत दिएको स्थानीय अगुवाहरू बताउँछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हराएको बुद्ध मूर्ति आफ्नै आसनमा फिर्ता

काठमाडौँ,१९ वैशाख । हराएको दशकौँ पछि, अन्ततः भगवान बुद्धको एउटा प्राचीन मूर्ति आफ्नै थातथलोमा फर्किएको छ। काठमाडौँ महानगरपालिका–२३, ओम बहालस्थित न्छुे बहा (बज्रधातु विहार) बाट

सल्यानमा प्रहरी कार्यालयकै जग खन्दा भेटियो ८६ वटा बम

सुर्खेत ,१९ वैशाख। सल्यानमा नयाँ भवनका लागि जग खन्ने क्रममा ठूलो परिमाणमा द्वन्द्वकालीन बम र विस्फोटक पदार्थ फेला परेको छ। शारदा नगरपालिका–३ स्थित जिल्ला प्रहरी

नेकपाले सार्वजनिक गर्यो महाधिवेशनको कार्यतालिका

काठमाडौँ,१९ वैशाख । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ को अध्यक्षतामा हालै सम्पन्न

विष्णुमती किनारमा डोजर रोकियो किन?

काठमाडौं,१९ वैशाख । काठमाडौंको विष्णुमती नदी किनारमा अनधिकृत संरचना हटाउन पुगेको महानगरको डोजर आज विहान रोकिएको छ। नयाँ बसपार्क नजिकैको क्षेत्रमा डोजरले काम सुरु गर्न

आर्थिक साझेदारी सुदृढ बनाउनेबारे अमेरिकी दूत र रास्वपा सभापति बीच छलफल

काठमाडौं,१९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नु भएको छ । उहाँहरूबीच