शैक्षिक सत्र २०८३ सुरु हुँदै : जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र

काठमाडौं,४ वैशाख । नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने संघारमा देशभरका विद्यालय र विद्यार्थीहरू नयाँ किताबको प्रतिक्षामा छन् । यही प्रतिक्षालाई समयमै पूरा गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक बिक्री वितरणलाई तीव्र बनाएको छ । चैत्र १६ गतेदेखि सुरु भएको पाठ्यपुस्तक बिक्री वितरण अहिले सातै प्रदेशमा फैलिएको छ । केन्द्रले सातै प्रदेशमा एकसाथ पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको जनाएको हो । केन्द्रका प्रवक्ता राम बहादुर कँुवरका अनुसार हाल सातवटा प्रदेश कार्यालय, नेपालगञ्जस्थित प्रादेशिक प्रेस र केन्द्रीय कार्यालय गरी नौं स्थानबाट पाठ्यपुस्तक विक्री वितरण भइरहेको छ ।

 

‘देशका सातैवटा प्रदेशमा पाठ्यपुस्तक बिक्री वितरणको काम धमाधम सुरु गरिसकेको छ,’ उहाँले भन्नु भयो, ‘चैत्र १६ गतेबाट बिक्री वितरणको काम सुरु गरेका छौं । सातवटा प्रदेश कार्यालयहरु छन्, एउटा प्रादेशिक प्रेस नेपालगन्जमा छ र केन्द्र गरी नौं वटा ठाउँबाट धमाधम बिक्री वितरण गरिरहेका छौं ।’ उहाँका अनुसार शैक्षिक सत्र २०८३ का लागि आवश्यक सबै पाठ्यपुस्तक छपाइ सम्पन्न भइसकेको छ भने हालसम्म करिब ५० प्रतिशत वितरण भइसकेको छ । यस वर्ष करिब १ करोड ७० लाख पाठ्यपुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ । ‘छपाई कार्यपूर्ण रुपमा सकिएर बिक्री वितरणको कामपनि आधा भइसकेको छ । एक करोड सत्तरी लाख पाठ्यपुस्तक आवश्यक रहन्छ भन्ने हाम्रो अनुमान हो,’ कुवँर भन्छन् ।

 

तर किताब छाप्नु मात्र पर्याप्त हुँदैन । त्यो किताब दुर्गम गाउँको विद्यालयसम्म समयमै पुग्नु नै असली चुनौती हो । यसै रणनीतिअनुसार हुम्ला, डोल्पा, मुगुजस्ता दुर्गम जिल्लामा किताब पहिले नै पुगिसकेको छ । सुदूरपश्चिमका बाजुरा, बझाङ र दार्चुलामा पनि पुस्तक वितरण सम्पन्न भइसकेको छ । ‘हामीले हिमाली जिल्लालाई पहिलो प्राथमिकतामा राख्छौं,’ कुवर भन्छन्, ‘किनकि त्यहाँ पुग्न ढुवानी कठिन हुन्छ ।’ यस वर्ष शैक्षिक क्यालेन्डरमा परिवर्तन भएको छ । यसअघि वैशाख १ गतेदेखि सुरु हुने पठनपाठन शिक्षा मन्त्रालयको निर्णयअनुसार वैशाख १५ गतेदेखि सुरु हुने भएपछि भर्ना अभियान पनि दुई हप्ता सरेको छ । यसको प्रभाव पुस्तक बिक्रीमा परेको छ । बिक्रेता तथा विद्यालयहरूबाट तत्काल माग नआउँदा वितरण अपेक्षाअनुसार तीव्र हुन नसकेको प्रवक्ता कुँवरले बताउनु भयो । यद्यपि, वैशाख १५ सम्म वितरण कार्य जारी रहने र त्यसपछि क्रमशः समाप्त हुनेछ ।

 

‘१५ गतेबाट पठनपाठन सुरु गर्ने निर्देशन छ । यसले भर्ना अभियान दुई हप्ता सरेको कारणले पाठ्यपुस्तक लिनको लागि बिक्रेताहरु पनि बिस्तारै आउने गरेको र स्कूलले पनि त्यति ताकेता नगरि राखेको अवस्थामा विक्री वितरणको काम धमाधम भइरहेको छ तर भनेजस्तो टार्गेट पूरा भएको छैन,’ उहाँले भन्नु भयो ।

 

जनक शिक्षाले हरेक वर्षझैं यसवर्ष पनि हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर वितरण गरेको जनाएको छ । उहाँका अनुसार पहाड र हिमालमा झण्डै ५० प्रतिशत विद्यार्थी भएपनि त्यहाँ ढुवानी जटिल हुन्छ । त्यसैले पहिले त्यहाँ पुस्तक पठाइन्छ । तराई र सहरी क्षेत्रमा माग बढी हुने भएकाले अन्तिम चरणमा वितरण गरिन्छ ।
‘हामीले बिक्री वितरण गर्दा सबैभन्दा पहिला हिमाली जिल्लालाई टार्गेट गर्छौं। त्यसपछि पहाडी जिल्लालाई त्यसपछि तराई र सहर केन्द्रित हुन्छ । अन्तिममा सहरमा र तराईका जिल्लाहरुमा पाठ्यपुस्तक बिक्री वितरण गर्छौं,’ ।

 

सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी जिल्लामा पाठ्यपुस्तक ढिलो पुगेको भन्ने पछिल्लो चर्चालाई प्रवक्ता कुँवरले अस्वीकार गर्नु भएको छ। उहाँका अनुसार देशका अधिकांश दुर्गम जिल्लामा पाठ्यपुस्तक समयमै पुगिसकेको छ र आपूर्ति अभावको ‘भाष्य’ मात्र निर्माण गरिएको हो ।
उहाँका अनुसार सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ र दार्चुला तथा कर्णालीका हुम्ला, डोल्पा र मुगुजस्ता जिल्लामा पाठ्यपुस्तक वितरण भइसकेको छ । कुवरले ती क्षेत्रमा किताब नपुगेको होइन, तर वितरण प्रक्रियामा केही प्राविधिक र व्यवस्थापकीय समस्या देखिएको जनाउनु भएको छ ।

उहाँले भन्नु भयो, ‘पाठ्यपुस्तक नपुगेको अवस्था होइन, पुगेको छ तर केही स्थानमा समयमै नउठाइएको वा वितरण प्रक्रियामा ढिलाइ भएको हो ।’ उहाँका अनुसार विगत १० वर्षदेखि केन्द्रले नियमित रूपमा समयमै पुस्तक छपाइ र वितरण गर्दै आएको छ र यसवर्ष पनि सोही अनुसार काम भइरहेको छ । उहाँका अनुसार देशभरका सातवटा प्रदेश कार्यालयमार्फत पाठ्यपुस्तक भण्डारण गरी वितरण प्रणाली सञ्चालन गरिएको छ । साथै, १,२०७ अधिकृत विक्रेतामार्फत पुस्तक विद्यालय र स्थानीय तहसम्म पुर्याइने व्यवस्था रहेको छ ।

वितरण प्रक्रिया अनुसार विक्रेताहरू सम्बन्धित क्षेत्रमा दर्ता भएर केन्द्रबाट पुस्तक उठाउँछन् र ती पुस्तकहरू पालिका तथा विद्यालयसम्म पुर्याइन्छ । विद्यालयमा पुस्तक पुगेपछि बिल तथा भरपाईका आधारमा स्थानीय तहले भुक्तानी प्रक्रिया अघि बढाउने व्यवस्था रहेको छ ।

तर, केन्द्रीय प्रवक्ता कुवँरका अनुसार कतिपय स्थानमा पालिकाले समयमै बजेट विनियोजन नगर्ने तथा विक्रेताले समयमै पुस्तक नउठाउने जस्ता कारणले ढिलाइ देखिएको हो । ‘स्थानीय तहको बजेट व्यवस्थापन र विक्रेताको समयमै उठान नहुँदा प्राविधिक ढिलाइ भएको मात्र हो,’ उहाँले भन्नु भयो। यसैबीच, तराईका केही जिल्लामा भने अझै पनि केही पुस्तकहरू नउठाइएको अवस्था रहेको र केन्द्रसँग पर्याप्त मात्रामा पाठ्यपुस्तक मौज्दात रहेको पनि उहाँले बताउनु भयो।

 

केन्द्रले पछिल्ला वर्षहरूमा दुर्गमदेखि सुगमसम्म पाठ्यपुस्तक आपूर्तिलाई निरन्तर र नियमित बनाउँदै आएको दाबी गर्दै आगामी दिनमा वितरण प्रणाली अझ प्रभावकारी बनाइने जनाएको छ । कुँवरले विभिन्न स्थानीय तहले मातृभाषामा तयार गरेका पाठ्यपुस्तक छपाइका लागि समेत सहकार्य भइरहेको बताउनु भयो ।

 

उहाँका अनुसार स्थानीय सरकारहरूले तयार पारेका मातृभाषाका पाठ्यक्रमअनुसारका पुस्तकहरू पनि छपाइ गरी वितरण गर्ने गरिएको छ । केन्द्रका प्रतिनिधिका अनुसार अहिले विभिन्न भाषिक समूदायका लागि आवश्यक पाठ्यपुस्तक उत्पादनमा समेत काम भइरहेको छ । ‘स्थानीय तहहरूले भोट, थारु, नेवार लगायतका भाषामा पाठ्यक्रम तयार गरेर छपाइका लागि ल्याउने गरेका छन्, हामीले ती सबै पुस्तक छापेर उपलब्ध गराउँदै आएका छौँ,’ उहाँले बताउनु भयो।

 

उहाँका अनुसार मुस्लिम समुदायका लागिपनि छुट्टै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माणका लागि अघिल्लो वर्षदेखि नै केही स्थानीय तहबाट अर्डर आएको र त्यसअनुसार छपाइ भइरहेको छ । स्थानीय तहले तयार पारेका पाठ्यक्रमअनुसार पुस्तक उत्पादन गर्ने व्यवस्था रहेको उहाँले स्पष्ट पार्नु भएको छ ।

 

उहाँका अनुसार कक्षा १ देखि १२ सम्मका सम्पूर्ण पाठ्यपुस्तक छपाइ गर्ने जिम्मेवारी केन्द्रको भएपनि केही कक्षाका पुस्तक निजी क्षेत्रलाई समेत छपाइका लागि अनुमति दिइएको छ । कक्षा १, २ र ४ का केही पाठ्यपुस्तक निजी क्षेत्रबाट पनि छपाइ भइरहेको उहाँले बताउनु भयो । यद्यपि, केन्द्रको आफ्नो क्षमतामा कुनै कमी नभएको दाबी गर्दै सबै तहका पुस्तक छपाइ गर्न सक्षम रहेको उहाँले जनाउनु भयो । ‘हामीसँग १ देखि १२ सम्मकै पाठ्यपुस्तक छाप्ने क्षमता छ,’ कुँवरले स्पष्ट पार्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

६२ वर्ष पुरानो जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको प्रतीक्षामा

जनकपुर,१० वैशाख । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखान जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पर्खाइमा छ । राजनीतिक

दमकमा हुँदै छ अन्तरास्ट्रिय स्तरको “कुकिङ कम्पोडिसन”

दमक,१० वैशाख। विस्वभरका ४५ बढि देशका प्रमुख होटलमा काम गर्ने कुक अर्थात सेफहरुको अन्तरास्ट्रिय स्तरको प्रतियोगिता हुने भएको छ । झापाको दमकमा आगामी जेष्ठ १–२