सिराहा, २० बैशाख । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार र यसका नेतृत्वले विधि मासेर बल र संविधान छलेर सेनाको बलमा शासन गर्न खोजेको भन्दै आलोचना गर्नु भएको छ। दिनदुखी, गरिव र असहायहरुमाथि वर्तमान सरकारले बर्बर दमन गरेको र उनीहरुलाई उठिबास लगएको भनेर आलोचना भइरहेको बेलामा अध्यक्ष साहले पनि प्रधानमन्त्री बालेन्द्र शाहले विधि मासेर बल प्रयोग र संविधान छलेर सेनामार्फत देशमा लामो समयसम्म शासन गर्न खोजेको संकेत मिलेको भन्दै यस्तो शासन नेपाली जनतालाई अस्विकार्य भएको चेतावनी दिनु भएको छ।
आज (आइतवार) सिराहाको गोलबाजारमा पार्टीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसद् छलेर अध्यादेशबाट शासन गरिनु संसदीय लोकतन्त्रको उपहास भएको भन्दै जननिर्वाचित सर्वोच्च थलो संसद्को सर्वोच्चता कायम गर्न सुझाव दिनु भयो । उहाँले विगतमा केपी ओलीले अध्यादेशबाट शासन गर्न खोज्दा र संसद्को अपमान गर्दा व्यहोरेको राजनीतिक क्षतिलाई पनि स्मरण गर्न उहाँले वर्तमान सरकार र रास्वपा नेतृत्व पँक्तिलाई सुझाव दिनु भयो ।
उहाँले नेपाली जनताले कांग्रेस, एमाले र नेकपाजस्ता पूराना दलको दलतन्त्र र नेतातन्त्रको विरुद्धमा रास्वपालाई अभूतपूर्व जनमत दिएको भन्दै वर्तमान सरकारले जनमतको सही सदूपयोग गर्नुपर्नेमा अहिले सरकार उल्टो बाटोमा हिँडेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो,“हिजो पूराना दलहरुले दलतन्त्र लादे, लोकतन्त्र लज्जित बनाए अनि गणतन्त्रलाई गन्हाउने बनाएकोले नै नेपाली जनताले रास्वपाको नाममा झण्डै दुई तिहाईको बहुमत दिएका हुन् । तर, शासन गर्ने कुर्सीमा बसेकाहरुसँग जनताको सेवा गर्ने चरित्र देखिएन । उनीहरु दमनकारी हुन थालेको आभाष भएको छ ।”
बालेनले जित्दा रामराज्य बन्छ भन्नेहरु नै अहिले एक महिनामै बालेनको शासन देखेर ‘राम राम’ भन्ने अवस्थामा पुगेको पनि पूर्वमन्त्री साहको टिप्पणी छ । उहाँले भन्नु भयो,“बालेनसँग धैर्यता देखिएन । हतार गर्दा दुई तिहाई बहुमत नै धरापमा पर्ने जोखिम पनि बढ्यो, यो कुरा रास्वपा नेतृत्व पँक्तिले राम्रोसँग हेक्का राख्दा हुन्छ । यो सरकारले जताततै हात हालेर असफलताको मार्गमा हिँडेको संकेत देखायो । यसले मुलुक र जनतालाई ठूलो घाटा छ ।” उहाँले सुकुमबासी बस्ती खाली गराउनको लागि नेपाली सेना नै फिल्डमा खटिएको र सोसम्बन्धी सार्वजनिक सूचना जारी गरेकोमा पनि आपत्ति जनाउनु भयो । उहाँले प्रधानमन्त्री शाहले सेनाको आडमा संविधान छलेर कतै सैनिक शासनको अभ्यास गर्न खोजेको त होईन ? भनेर आशंका सर्वसाधारण जनतामा उब्जिएको उल्लेख गर्नु भयो।
देशैभरिका सुकुमबासी बस्तीमा बुलडोजर चलेको र हजारौंको संख्यामा सुकुमबासीमा बस्ने जनता विस्थापित भएको र खुला आकाशमा रात काट्न बाध्य बनाईएको भन्दै उहाँले देशमा अहिले विधि र विकासको शासन नभएर बलजफ्ती र विध्वंशको शासन चलिरहेको टिप्पणी गर्नु भयो । उहाँले भन्नु भयोे,“अहिलेको सरकारको शासन शैली हेर्दा उनीहरु देश बनाउन होइन, बिगार्नको लागि आएकोजस्तो देखियो । अहिले त एक सय दिन नपुग्दै यो सरकारले एकसय एक वितण्डा मच्चाउने भय उत्पन्न भएको छ । रास्वपा अहिलेसम्म त छँदैछ, अब बालेनको छत्रछायाँमा यसको अस्तित्व नै स्वाहाः हुने लक्षण देखिएको छ ।”
सुकुम्बासीको सेल्टर नै भत्काएर यो सरकारले न्यूनतम मानवीय संवदेना कुल्चिएको र उनीहरुको मानवअधिकारको पनि हनन गरिएको साहको आरोप छ । उहाँले सुकुमबासीहरुलाई उचित विकल्प नदिईकन फिल्मी शैलीमा बुलडोजर आतंक सिर्जना गरिनु मानवअधिकारको गम्भीर उल्लंघन भएको टिप्पणी छ ।
शीतलनिवासमा धार्मिक झल्को दिनेगरि हिन्दू र बौध धर्म गुरुहरु बोलाएर मन्त्रोचारण गरेर शपथ लिएका बालेनले एक महिना नपुग्दै मन्दिर र गुम्बा भत्काईदिएको भन्दै साहले धार्मिक सहिष्णुताको कदर गर्न वर्तमान सरकारलाई सुझाव दिनु भयो । उहाँले अहिले सामाजिक सञ्जालमा बालेन युग भएर वाहवाही गरिएको भएपनि यसलाई आफूले विध्वंशको युग सुरु भएको भनेर टिप्पणी गर्ने गरेको स्मरण गराउनु भयो । उहाँले बालेनको उदय र रास्वपाको पतन सँगसँगै हुने पनि गम्भीर टिप्पणी गर्नु भयो ।
साहले अहिलेको सिस्टममा सुधार नगरिएसम्म देशले निकास नपाउने आफ्नो पार्टीको ठहर भएकोले देशमा एकपटक निर्णायक आन्दोलनको आँधीबेहरी सिर्जना गरेर जनताको शासन स्थापित गरिनुपर्ने आवश्यकत्ता औंल्याउनु भयो । उहाँले वर्तमान संविधान र शासन प्रणालीले देशलाई सही निकास नदिने र अनन्तकालसम्म अस्थिरताको भूमरीमा फसाउने कुरा संविधान जारी भएको यो एक दशकको अवधिमा पुष्टि भइसकेको दाबी गर्नु भयो ।









