पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन अल्टिमेटम दिएपछि सुकुम्वासी बस्तीमा तनाव उत्पन्न भएको छ। काठमाडौँमा सुकुम्वासी बस्तीमाथि डोजर चलाइएको घटनाले पोखराका बासिन्दाहरूमा समेत सुरक्षाको चिन्ता थपिदिएको हो।
महानगरले वैशाख ४ गते ३५ दिने सूचना जारी गर्दै सरकारी जग्गा खाली गर्न निर्देशन दिएपछि आज सुकुम्वासीहरूले ’डोजर आतङ्क’ विरुद्ध प्रदर्शन गरेका छन्। महानगर–९, बसपार्क क्षेत्रका करिब ४७५ परिवारले उचित व्यवस्थापनबिना ठाउँ नछोड्ने चेतावनी दिएका छन्।
आन्दोलनकारीहरूले पृथ्वीचोकमा ¥याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले सुकुम्वासी समस्यालाई मानवीय संवेदनासहित समाधान गर्न र वैकल्पिक बासस्थानको सुनिश्चितता गर्न माग गरेका छन्।









