काठमाडौं,२६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्नु भएको छ । राष्ट्रपति पौडेलले मनमोहन अधिकारीका नाममा स्थापित प्रतिष्ठानले समाजका ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषयमा छलफल आयोजना गर्नु सकारात्मक पक्ष भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘पूर्व प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीका नाममा स्थापित प्रतिष्ठानले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपलाई नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषयमा छलफल गर्नु राम्रो पक्ष हो ।’
उहाँले मनमोहन अधिकारी अत्यन्त शालीन, सरल र सादगी नेता भएको उल्लेख गर्दै दक्षिण एसियामै वामपन्थी राजनीतिका पहिलो निर्वाचित प्रधानमन्त्रीका रूपमा उहाँको विशेष पहिचान रहेको बताउनु भयो । पौडेलले नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रवर्तक वीपी कोइरालासँगै मनमोहन अधिकारी तथा अन्य नेताहरूले नेपालको मात्र नभई भारतको स्वतन्त्रता संग्राममा समेत उल्लेखनीय योगदान दिएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘मनमोहन अधिकारी अत्यन्त शालिन व्यक्ति हुनुहुन्थ्यो । दक्षिण एसियामै वामपन्थि राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहन जी सरल र सादगी नेता हुनुहुन्थ्यो । नेपालको प्रजातान्त्रिक आन्दोलनका सैद्धान्तिक प्रवर्तक वीपि कोइरालासँगै मनमोहन जी र अन्य कतिपय नेताले नेपालको मात्र नभैइ भारतको समेत स्वाधिनता संग्राममा उल्लेख सहभागिता जनाउनु भएको थियो । मनमोहन जी लगायतका नेताहरु नेपालका मात्र नभएर मुलुक बाहिर पनि सम्मानित हुनुहुन्छ ।’
उहाँले मनमोहन अधिकारी लगायतका नेताहरू नेपालभित्र मात्र नभई विदेशमा समेत सम्मानित रहेको धारणा व्यक्त गर्नु भयो । त्यसैगरी, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकसम्बन्धी विभिन्न आयाममा निरन्तर काम गर्दै आएको बताउनु भयो ।
मेयर महर्जनले शताब्दी पुरुष सत्यमोहन जोशी १०० वर्षमा प्रवेश गर्दा ललितपुर महानगरपालिकाले विशेष सम्मानस्वरूप जात्रा, रथारोहण तथा बग्गी जात्राजस्ता कार्यक्रम आयोजना गरेको स्मरण गर्नु भयो । उहाँले ललितपुरबाहेक अन्यत्र यस्ता सम्मान कार्यक्रम नमनाइएको दाबी गर्नु भयो।
उहाँले सत्यमोहन जोशी जीवित रहुञ्जेल ज्येष्ठ नागरिकको सम्मानमा गर्नुपर्ने कुनै काम बाँकी नराखिएको उल्लेख गर्नु भयो। साथै, नेपाल सरकार र नेपाल राष्ट्र बैंक सँगको सहकार्यमा सत्यमोहन जोशीको नाममा मोहर छाप्न सफल भएको जानकारी दिनु भयो ।
उहाँले भन्नु भयो,‘ललितपुर महानगरपालिका जेष्ठ नागरिक सम्बन्धी धेरै आयामहरुमा कार्य गर्दै आइरहेका छ । यसको ज्वलन्त उदाहरण हामीले सत्यमोहन जोशी १०० वर्ष प्रवेश गर्दैगर्दा हामीले ललितपुर महानगरपालिकामा जात्रा रथ आरोहण, बग्गी जात्रा अहिलेसम्म ललितपुरबाहेक कतै मनाएको छैन । उहाँ बाचुन्जेलसम्म हामीले उहाँको सम्झनामा जेष्ठ नागरिकको सम्मानमा गर्नुपर्ने कामकुरो केही पनि बाँकी राखेनौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा नेपाल राष्ट्र बैक, नेपाल सरकारसँग सहकार्य गरेर हामीले मोहरहरु छाप्न हामी सफल भयौं ।’
यसैगरी मनमोहन स्मृति प्रतिष्ठानमा अध्यक्ष एवम् नेकपा एमालेका नेता ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको विचार, योगदान र राजनीतिक विरासतलाई चिरस्थायी बनाउन २०५६ सालमा मनमोहन स्मृति प्रतिष्ठान स्थापना गरिएको बताउनु भयो ।उहाँले नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा मनमोहन अधिकारीलाई ‘हिमशिखर पुरुष’ का रूपमा स्मरण गर्नु भयो।
पोखरेलले मनमोहन अधिकारी राज्यका तर्फबाट सामाजिक सुरक्षा कार्यक्रम अघि बढाउने तथा विकास निर्माणमा जनआधारित कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्ने प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘नेपालको वामलोकतान्त्रिक आन्दोलनका हिम शिखर पुरुष राज्यको तर्फबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाउने तथा विकास निर्माणमा जनआधारित कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउने प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री निष्ठा र निरन्तरतामा आफ्नो सम्पूर्ण जीवन सर्मपित गर्नु भएका नेकपा एमालेका पूर्व स्वर्गीय अध्यक्ष मनमोहन अधिकारीको गौरवपूर्ण इतिहास विचार तथा योगदानलाई चिरस्थायी बनाउन २०५६ सालमा मनमोहन स्मृति प्रतिष्ठान स्थापना गरिएको थियो ।’
उहाँले मनमोहन अधिकारीले निष्ठा, समर्पण र निरन्तरता सहित आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पित गरेको उल्लेख गर्दै उहाँको गौरवपूर्ण इतिहास, विचार र योगदानलाई नयाँ पुस्तामाझ स्थापित गर्न प्रतिष्ठानले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो ।









