काठमाडौँ,२६ वैशाख। ’राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईँले बालेन शाह र वर्तमान राजनीतिक अवस्थाप्रति कडा टिप्पणी गर्नुभएको छ। प्रसाईँले बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाउँदै उहाँले नागरिकको भौतिक घर मात्र नभएर उनीहरूको भविष्य र सपना समेत भत्काएको आरोप लगाउनुभएको छ।
निर्वाचन सम्पन्न भएको छोटो समयमै जनतामा निराशा छाएको दाबी गर्दै प्रसाईँले भन्नुभयोः “हिजो विदेशमा रहेका युवाहरूले घरमा फोन गरेर ’घण्टीमा भोट नहाले घर नै आउँदिन’ भन्दै घुर्की लगाए। तर आज अवस्था बदलिएको छ। अहिले नेपालबाट आमाबुबाले भनिरहेका छन— अब यहाँ तिम्रो घर नै बाँकी छैन, कुन घर फर्किन्छौ?“ उहाँका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गर्ने मतदाताहरू दुई महिना नपुग्दै पछुताउने अवस्थामा पुगेका छन्।
प्रसाईँले बालेन शाहको नेतृत्वमा रहेको स्थानीय सरकार विदेशी शक्ति, विशेषगरी अमेरिकाको चाहनामा बनेको आफ्नो पुरानो दाबी दोहो¥याउनुभयो। सुरुवाती दिनमा आफ्नो कुरा कसैले नपत्याए पनि अहिले बालेनका गतिविधिले ती आरोपहरू पुष्टि गर्दै गएको उहाँको तर्क छ।
सरकारले न्यायपालिकाको स्वतन्त्रता माथि धावा बोलेको आरोप लगाउँदै प्रसाईँले भन्नुभयोःचौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गरेर सरकारले ’जग हसाउने’ काम गरेको छ। सरकारले न्यायालयलाई आफ्नो नियन्त्रणमा राख्न खोजेको र यसले लोकतन्त्रको उपहास गरेको उहाँको भनाइ छ।









