दमक , २६ बैशाख । झापाको गौरादह नगरपालिका–५ स्कुलचन बजारमा बस र टिफर एकआपसमा ठक्कर खाँदा १० जना घाइते भएका छन्। आज बिहान करिब ११ बजे दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे.१ ख २४९९ नम्बरको यात्रुबाहक बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र.न.२–०३–००१ ख ७१५३ नम्बरको टिफर भित्री सडक खण्डमा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा बस चालक कृष्ण प्रसाद राजवंशीसहित यात्रु योगमाया निरौला, कल्पना प्रसाद उराउ, शारदा देवी पौडेल, सलिना खत्री र उनकी ६ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका छन्।
घाइतेमध्ये योगमाया निरौलालाई थप उपचारका लागि निम्स अस्पताल दमक पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेको उपचार नगर अस्पताल गौरादहमा भइरहेको छ। दुई जनाको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको बताइएको छ। प्रहरी चौकी महारानीझोडाले टिफर चालक र दुवै सवारी साधन नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।









