काठमाडौं,५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले सरकारले ल्याउने बजेट न्याय, समतामूलक विकास र समानुपातिक आधारमा वितरण हुनुपर्ने बताउनु भएको छ । संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यसभन्दा अगाडि पहुँचको आधारमा हुने बजेट विनियोजन यस पटक अन्त्य हुनुपर्ने भन्दै सरकारलाई सचेत गराउनु भएको छ।
उहाँले भन्नु भयो, ‘हामीले सत्तारुढ दलको सांसद भएपनि सरकारलाई सचेत गराउने हिसाबले संसदमा प्रस्तुती राखेका हौं । यसपटकको बजेट न्यायको आधारमा, समतामूलक विकासको आधारमा, समानुपातिक आधारमा वितरण हुनुपर्छ । यसभन्दा अगाडि पहुँचको आधारमा हुने गर्दथ्यो यस पटक अन्त्य हुनुपर्छ भनेर सचेत गराएका हौं । योसँगै निर्वाचित क्षेत्रका तमाम विकासका योजनाहरु सम्पन्न गर्नुपर्ने छ ।’
उहाँले काभ्रेका एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा रहेको भन्दै सरकारको त्यसमा ध्यान केन्द्रित गर्नु भएको छ ।
उहाँले भन्नु भयो, ‘म काठमाडौंबाट नजिकै रहेको काभ्रे क्षेत्र नम्बर २ को जनप्रतिनिधि हुँ । काभ्रेको विकासप्रतिका कुरा सरकारसँग जोड्नुपर्ने छ । सिंहदरवारका प्रर्खालभन्दा होचा जनताहरुका विकासप्रतिको चाहना सिंहदरवारसम्म ल्याउनुपर्ने छ । सदनबाट जनताको कुरा उठाउनुपर्ने छ । काभ्रेमा एकिकृत खानेपानी बनेपा, धुलिखेल र पनौतिका लाखौ जनताले उपयोग गर्ने एकिकृत खानेपानी दशकौं वर्ष अन्योलमा छ । सरकारको त्यसमा ध्यान केन्द्रित गरेको हुँ ।’
यस्तै, श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले नीति, थीति र विधी बसाल्नका लागि विरोध गरेको बताउनु भयो ।
‘हामीले विरोधका लागि विरोध भने गरेका हैनौं । संसारभर हेर्दा सत्ता पक्ष र प्रतिपक्ष इमान्दार भएको खण्डमा परिणाम राम्रो आउने रहेछ । नीति, थिति र विधी बसाल्नुपर्छ भन्ने कुरा हो,’उहाँले भन्नु भयो ।









