काठमाडौं,६ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सरकार सदनप्रति र जनताको प्रश्नबाट भागेको भन्दै आपत्ति जनाउनु भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफूहरुले जनताको प्रश्न राख्न खोज्दा सम्बन्धित मन्त्रीहरु सदनमा सहभागी नभएको भन्दै प्रश्नको उत्तर दिने कर्तव्यबाट सरकार भागेको धारणा राख्नु भएको छ।
‘हामीले हाम्रो व्यक्तिगत प्रश्न नभएर सरकारको प्रश्न सरकारका सम्बन्धित मन्त्रालयलाई सोध्न चाहेका छौं ।
सिमानाका कुरादेखि लिएर महंगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई फिर्ता गर्दै गरेको रकमको श्रोत के हो ?कहाँबाट फिर्ता गर्दैै छौं भन्ने कुरामा हामीले थुप्रै्र प्रश्न राख्न खोजेको छौं । तर सम्बन्धित मन्त्रीहरु सदनमा आउँदै नआउने ।’उहाँले भन्नु भयो,‘नीति तथा कार्यक्रम प्रस्तुतमा र छलफलमा पनि नआउने ,उत्तर दिन पनि अर्को मान्छे तरिकाले नियमावली १५ को उपनियम २ लागू भएको देखिँदैन । हाम्रो जोडदार माग छ । यो सदन र जनताप्रति सरकार जवाफदेही हुँनैपर्छ । जनताको प्रश्न सोध्ने सदनमा सरकारको प्रतिनिधि नआउनु त्यसले के जनाउँछ ?प्रश्नको उत्तर दिने उहाँहरुको कर्तव्य हो । त्यो कर्तव्यबाट सरकार भागेको छ ।’









