इलाम,८ जेठ। सूर्योदय नगरपालिका–१२ स्थित कनकाई माध्यमिक विद्यालयको नाममा रहेको ३१ बिघाभन्दा बढी जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको खुलासा भएको छ ।
तीन पालिकाभित्र फैलिएको विद्यालयको जमिनमा स्थानीयले पक्की घर निर्माण गरेर बसोबास गरिरहेका छन् भने कतिपय ठाउँमा जग्गा टुक्र्याएर बिक्रीसमेत गरिएको पाइएको छ ।
विद्यालयका अनुसार कनकाई नगरपालिका, अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिका भित्र रहेको ३१ बिघा १६ कट्ठा १५ धुर जग्गामध्ये धेरै भाग स्थानीयको कब्जामा पुगेको हो ।
विद्यालयले खेतीका लागि वार्षिक बेक्का बुझाउने सर्तमा दिएको जमिनमा अहिले धमाधम पक्की संरचना बनेका छन् । केही व्यक्तिले जग्गा खरिद–बिक्रीसमेत गरेको स्थलगत अध्ययनबाट खुलेको छ ।
विद्यालयका प्रधानाध्यापक गणेशप्रसाद आचार्यका अनुसार विगतमा भाडामा दिइएको जमिन पछि अनधिकृत रूपमा बिक्री हुन थालेपछि समस्या जटिल बनेको हो । कनकाई क्षेत्रमा मात्रै १४ वटा पक्की घर निर्माण भइसकेका छन् ।
नगरपालिकाले विद्यालयको पत्रपछि सार्वजनिक सूचना जारी गर्दै विद्यालयको जमिनमा थप संरचना बनाउन रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय इलामले आवश्यक कागजात माग गर्दै अतिक्रमण हटाउन प्रक्रिया अघि बढाउने जनाएको छ ।
स्थानीय तह र प्रशासनबीच समन्वय गरी विद्यालयको जमिन खाली गराउने तयारी भइरहेको जनाइएको छ ।









