पोखरा, १० जेठ। पोखरा महानगरपालिकाले फेवातालको लाइफलाइन मानिने फिर्के खोलाघरभित्र गरिएका अतिक्रमण हटाउन आइतबार (आज) देखि औपचारिक रूपमा डोजर चलाउन सुरु गरेको छ। सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउन महानगरले दिएको ३५ दिने अल्टिमेटम सकिएलगत्तै महानगरले यो कडा कदम चालेको हो।
महानगर प्रमुख धनराज आचार्यका अनुसार खोलाघरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति र संस्थाहरूलाई पूर्वसूचना दिइसकिएकाले आजदेखि तीनवटा फरक–फरक स्थानबाट एकैसाथ डोजर चलाएर अभियान सुरु गरिएको छ।
यी तीन स्थानबाट चल्दैछ डोजरः
१. पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि वडा नम्बर ४ तर्फ।
२. पोखरा–४ र ५ को सिमाना फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिरदेखि वडा नम्बर ५ र ८ तर्फ।
३. पोखरा–७ र ८ को सिमाना जिरोकिलोमिटरस्थित लायन्स भवनदेखि फेवातालतर्फ।
सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको प्रत्यक्ष नेतृत्वमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यो अभियान निरन्तर सञ्चालन हुनेछ। महानगर प्रमुख आचार्यले भन्नु भयो, “फिर्के खोला लगायतका सबै सार्वजनिक जमिनको संरक्षणका लागि महानगरले योजनाबद्ध रूपमा काम सुरु गरेको हो। खोला कसैको निजी सम्पत्ति हुन सक्दैन भन्ने तथ्यलाई हामी सबैले गम्भीरतापूर्वक मनन गर्न जरुरी छ।“
लायन्स क्लब र फोटोग्राफर सङ्घले आफैं खाली गरे भवन
महानगरले जेठ ३ गते पछिल्लोपटक सूचना जारी गर्दै जेठ ९ गतेभित्र संरचना आफैं हटाउन आग्रह गरेपछि केही संस्थाहरूले जिम्मेवारी देखाउँदै आफैं खाली गरेका छन्। फिर्केमा रहेको लायन्स क्लबले शुक्रबार नै आफ्ना सबै सामान सारिसकेको छ भने फोटोग्राफर सङ्घ लगायतले पनि भवन खाली गरेर महानगरलाई सहयोग गरेका छन्।
नापजाँचको डरलाग्दो तथ्यः १६० संरचना खोलामाथि!
महानगरको प्राविधिक नापजाँच प्रतिवेदनअनुसार फिर्के खोलाघरमाथि स्थायी र अस्थायी गरी कुल १६० वटा संरचना बनेका छन्। जसमा खोला नै मिचेर ९७ वटा अस्थायी र ३५ वटा स्थायी व्यक्तिगत संरचना बनाइएका छन् भने खोलामाथि १० वटा अस्थायी र १८ वटा स्थायी संस्थागत संरचना खडा गरिएका छन्।
सराङकोटदेखि सुरु भई पोखराका विभिन्न ८ वटा वडाहरू (१८, २, ४, ५, ७, ८, ६ र १७) हुँदै फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ ८ किलोमिटर रहेको छ। नापजाँचका क्रममा यो खोला न्यूनतम ३.३० मिटरदेखि अधिकतम ४० मिटरसम्म फराकिलो पाइएको छ। खोलाको सिमाना स्पष्ट पार्न पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ गरी कुल ५८८ वटा सीमास्तम्भ (पिलर) गाडिएका थिए, जसकै आधारमा आजदेखि संरचना भत्काउन थालिएको हो।









