काठमाडौं, जेठ १५। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दीपक भट्टसँग जोडिएका ५६ जना लगानीकर्ता तथा विभिन्न कम्पनीका उच्च पदस्थ अधिकारीहरूको सेयर कारोबार रोक्का राख्न निर्देशन दिएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको भन्दै सीआईबीले धितोपत्र बोर्डलाई पत्राचार गर्दै उनीहरूको लगानी विवरण माग गरेको छ। अनुसन्धान प्रक्रिया नसकिएसम्म ती व्यक्तिहरूको नाममा रहेको सेयर बिक्री वा हस्तान्तरण गर्न नपाउने गरी सीआईबीले रोक लगाएको हो।
कुन–कुन कम्पनीका पदाधिकारीहरू अनुसन्धानको दायरामा?
सीआईबीले हिमालयन रि–इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन सेक्युरिटी बैंकर, क्यापसर्भ लि., गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन इन्भेष्टमेन्ट बैंकर, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक तथा व्यवस्थापकहरूको सेयर रोक्का राख्न पत्राचार गरेको छ।
अनुसन्धानको घेरामा परेका मुख्य व्यक्तिहरूमा हिमालयन रि–इन्स्योरेन्सकी सीईओ उपासना पौडेल, हिमालयन लाइफ इन्स्योरेन्सका सञ्चालक विवेक कुमार शाह, तथा विभिन्न कम्पनीका सञ्चालक समिति र लगानी समितिका सदस्यहरू रहेका छन्। सीआईबीले सम्बन्धित कम्पनीहरूलाई तत्काल उनीहरूको सम्पूर्ण लगानी विवरण खुलाएर पठाउन समेत निर्देशन दिएको छ।









