काठमाडौं,१६ जेठ । सभामुख डोलप्रसाद (डिपी) अर्यालले लायन्स क्लब जस्तो सामाजिक संस्थामा राजनीतिक हस्तक्षेप हुन नहुने बताउनु भएको छ। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको वार्षिक महाधिवेशनलाई सम्बोधन गर्दै सभामुख अर्यालले विश्वमै उत्कृष्ट समाजसेवाका लागि परिचित लायन्स क्लबले आफ्नो मूल उद्देश्यलाई निरन्तरता दिँदै आएको उल्लेख गर्नु भएको छ। उहाँले संस्थामा राजनीतिक प्रभाव नदेखिएको भन्दै आगामी दिनमा पनि यसको शुद्ध सामाजिक चरित्र कायम रहनुपर्नेमा जोड दिनु भएको छ ।
उहाँले भन्नु भयो, ‘संसारमै उत्कृष्ट समाजसेवा गर्नलाई कहलिएको लायन्स क्लबमा राजनीतिको गलत प्रवेश देख्नु भयो। साच्चै नै समाजसेवाको लागि यसको सुरुवात जसरी भयो आज पनि यो संस्था त्यसैमा निरन्तरता कायम छ । लायन्स संस्था यसैगरी शुद्द रहिरहोस् । जसरी आजसम्म रह्यो त्यसरी निरन्तर रहिरहोस् । यसमा गलत राजनीतिको प्रवेश नहोस् ।’
उहाँले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना हुँदा विभिन्न देशमा रहेका नेपालीहरूलाई एकताबद्ध गर्ने उद्देश्य भएपनि पछि त्यहाँ राजनीतिकरण भएको उदाहरण प्रस्तुत गर्दै लायन्स क्लब भने त्यस्तो अवस्थाबाट टाढा रहनुपर्ने बताउनु भयो ।
‘विदेशमा बस्ने तमाम नेपालीहरुले गैरआवासीय नेपाली संस्था जन्माउनुभयो । त्यस संस्थाको जन्म हुँदैगर्दा विश्वभरी भएका थोरै नेपालीहरुले गैरआवासीय नेपाली संस्था जन्माउनुभयो । त्यहाँ पनि राजनीतिरकण गरियो । तर लायन्स क्लब समाजसेवाको उद्देश्यले स्थापना भएको संस्था हो । आजसम्म जसरी यसको सामाजिक र सेवामूलक चरित्र कायम छ, त्यसैगरी भविष्यमा पनि रहिरहोस्,’ सभामुख अर्यालले भन्नु भयो ।
कार्यक्रममा उहाँले लायन्स क्लबका गतिविधिलाई सञ्चारमाध्यमले अपेक्षाअनुसार प्राथमिकता नदिएको गुनासो पनि गर्नु भयो। यद्यपि, महाधिवेशनमा ठूलो संख्यामा सञ्चारकर्मीको उपस्थिति देखेर आफू खुसी भएको बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘मिडियाले किन लायन्सलाई देखिरहेको छैन भन्ने गुनासो थियो तर आज खुसी लागेको छ । धेरै मिडियाकर्मी यहाँ देखें । यस्तो अग्रज र बौद्धिक व्यक्तिहरुले र सफल नेपाली नागरिकहरुले क्लबमा आवद्धता जनाउनु भएको छ र ७७ वटै जिल्लामा थुप्रै काम गर्नु भएको छ । तर सञ्चार गृहहरुको र सञ्चार क्षेत्रको आँखा नपरेकोमा जहिले पनि म गुनासो गरिरहको थिए । आजबाट गर्दिन किनभने आज सञ्चारकर्मी मित्रहरु धेरै नै देखे।’
लायन्स क्लबमा अग्रज, बौद्धिक तथा सफल नेपाली नागरिकहरूको आबद्धता रहेको उल्लेख गर्दै उहाँले संस्थाले देशका ७७ वटै जिल्लामा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गरेको बताउनु भयो ।
यस्ता गतिविधि सञ्चारमाध्यमको नजरमा पर्याप्त रूपमा नपरेको भन्दै आफूले विगतमा गुनासो गर्दै आएको तर कार्यक्रममा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता देखेपछि अब त्यस्तो गुनासो नगर्ने बताउनु भयो ।
सभामुख अर्यालले लायन्स क्लबमा आबद्ध भएर समाजसेवामा योगदान दिनु सहज नभएको उल्लेख गर्दै संस्थामा संलग्न सबैलाई धन्यवाद समेत दिनु भयो ।









