बर्खायाममा संक्रामक रोगबाट सतर्कता अपनाउन चिकित्सकको आग्रह

काठमाडौं,२० जेठ । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा संक्रमणजन्य रोगहरूको जोखिम बढ्ने गर्छ । नेपालमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको जोखिम बढ्ने भएकाले नागरिकहरूले खानपान, सरसफाइ र व्यक्तिगत स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने जनरल फिजिसियन डा.संकल्प केसीले बताउनु भएको छ । अरिन हस्पिटलमा कार्यरत डा.केसीले बर्खायाममा देखिने स्वास्थ्य समस्या, नेपालको स्वास्थ्य क्षेत्रको अवस्था, चिकित्सक पलायन तथा नयाँ सरकारसँगको अपेक्षाबारे विस्तृत धारणा व्यक्त गर्नु भएको छ।

उहाँले पछिल्लो समय स्वास्थ्य क्षेत्र उल्लेखनीय आधुनिकीकरण भएको बताउँदै नेपाल स्वास्थ्य प्रविधिको क्षेत्रमा दक्षिण एसियामै प्रतिस्पर्धी अवस्थामा रहेको बताउनु भयो । आधुनिक प्रविधिले रोग पहिचान, उपचार तथा स्वास्थ्य सेवा प्रवाहलाई छिटो, सहज र प्रभावकारी बनाएको उहाँको भनाइ छ । उहाँले भन्नु भयो,‘स्वास्थ्य क्षेत्रमा अहिले अत्याधुनिक प्रविधिहरू भित्रिएका छन् । यसले समय बचत गर्नुका साथै रोगको सही पहिचान र उपचारमा ठूलो सहयोग पु¥याएको छ । विश्वभर स्वास्थ्य विज्ञानमा दैनिक नयाँ अनुसन्धान र प्रविधिको विकास भइरहेको छ, जसको सकारात्मक प्रभाव नेपालमा पनि देखिन थालेको छ । ’

बर्खायामसँगै संक्रामक रोगको जोखिम

डा. केसीका अनुसार नेपाल जस्तो विकासोन्मुख देशमा बर्खायाम सुरु भएसँगै विभिन्न संक्रामक रोगहरूको प्रकोप बढ्ने गर्छ । विशेषगरी डेंगी, मलेरिया, टाइफाइड, स्क्रब टाइफस, झाडापखाला, हैजा, भाइरल हेपाटाइटिस तथा अन्य ज्वरोजन्य रोगहरू यस समयमा बढी देखिने गरेका छन् । उहाँले दूषित पानी र अस्वस्थ्यकर खानपानका कारण ग्यास्ट्रोइन्टेराइटिस, फुड पोइजनिङ, बान्ता, पखाला र ज्वरोजस्ता समस्या व्यापक रूपमा देखिने बताउनु भयो । कतिपय ग्रामीण क्षेत्रमा हैजा जस्ता रोगले महामारीकै रूप लिनसक्ने भएकाले समयमै सतर्कता अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

‘बर्खायाममा पानीजन्य र खानाजन्य रोगहरू तीव्र रूपमा फैलिने सम्भावना हुन्छ । त्यसैले सुरक्षित खानेकुरा, उमालेको वा शुद्धीकरण गरिएको पानी तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ,’ उहाँले भन्नु भयो।

बालबालिका र वृद्धवृद्धा बढी जोखिममा

उहाँका अनुसार रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू संक्रमणको उच्च जोखिममा पर्छन् । विशेषगरी बालबालिका र वृद्धवृद्धामा संक्रमणको असर बढी देखिने गरेको छ । बालबालिकाको प्रतिरक्षा प्रणाली पूर्ण रूपमा विकसित भइनसकेको र वृद्धवृद्धामा रोगसँग लड्ने क्षमता कम हुने भएकाले उनीहरूलाई विशेष संरक्षण आवश्यक रहेको उहाँले बताउनु भयो । परिवारका सदस्यहरूले यी उमेर समूहप्रति थप सतर्कता अपनाउनुपर्ने उहाँको सुझाव छ ।

किन फैलिन्छन् सीमित क्षेत्रमा भाइरल रोग ?

कुनै गाउँ वा निश्चित क्षेत्रमा भाइरल रोगहरू एक्कासी फैलिने मुख्य कारण दूषित पानी, सरसफाइको अभाव र जनचेतनाको कमी रहेको डा. केसी बताउँनु हुन्छ । उहाँका अनुसार खुला दिसापिसाब, सुरक्षित शौचालयको अभाव, संक्रमित व्यक्तिको सम्पर्क तथा स्वास्थ्यसम्बन्धी आधारभूत सावधानी नअपनाउँदा रोगहरू एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने गर्छन् । उहाँले भन्नु भयो,‘संक्रमित व्यक्तिलाई अलग्गै नराख्ने, व्यक्तिगत सरसफाइमा ध्यान नदिने, हात नधुने तथा सुरक्षित पानी प्रयोग नगर्ने बानीका कारण ग्रामीण क्षेत्रमा कहिलेकाहीँ रोगले महामारीको रूप लिन सक्छ ।’

कसरी जोगिने ?
बर्खायाममा रोगबाट जोगिनका लागि घर तथा समुदाय स्तरमा केही आधारभूत सावधानीहरू अपनाउन उनले आग्रह गरेका छन् । उहाँका अनुसार डेंगीबाट बच्न घर वरिपरि पानी जम्न दिनु हुँदैन । फूलदानी, टायर, ड्रम, गमला लगायतका स्थानमा लामखुट्टेले फुलपार्ने भएकाले नियमित सरसफाइ गर्नुपर्छ । सुत्दा झुल प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट जोगिने उपाय अपनाउनुपर्ने उहाँले बताउनु भयो । त्यसैगरी खानपानमा विशेष ध्यान दिँदै उमालेको पानी पिउने, ताजा तथा सफा खाना खाने, लामो समय खुला राखिएको खाना नखाने तथा फ्रिजमा राखिएको खाना पुनः तताएर मात्र प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ ।

‘सरसफाइ, नियमित व्यायाम, पर्याप्त पानी सेवन तथा स्वस्थ जीवनशैलीले धेरै रोगहरूबाट बच्न मद्दत गर्छ,’ उहाँले भन्नु भयो।
ग्रामीण र सहरी स्वास्थ्य अवस्थाबीच अन्तर नेपालको जनस्वास्थ्य अवस्थाबारे बोल्दै डा. केसीले ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य समस्याको प्रकृति फरक रहेको बताउनु भयो। उहाँका अनुसार ग्रामीण क्षेत्रमा हैंजा, झाडापखाला, क्षयरोग, निमोनिया, भाइरल ज्वरो तथा डेंगीजस्ता सरुवा रोगहरू बढी देखिन्छन् । सरसफाइ, सुरक्षित खानेपानी र स्वास्थ्य चेतनाको अभाव यसको मुख्य कारण हो ।

यता सहरी क्षेत्रमा भने उच्च रक्तचाप, मधुमेह, थाइराइड, कोलेस्ट्रोल तथा मुटुसम्बन्धी रोगहरू तीव्र रूपमा बढिरहेका छन् । बदलिँदो जीवनशैली, शारीरिक गतिविधिको कमी तथा अस्वस्थकर खानपानका कारण नसर्ने रोगहरूको जोखिम बढिरहेको उहाँले बताउनु भयो ।

 

स्वास्थ्य क्षेत्रमा सुधार भएपनि चुनौती कायमै

 

विगतको तुलनामा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच उल्लेखनीय रूपमा विस्तार भएको उहाँको भनाई छ । सरकारले गाउँगाउँमा स्वास्थ्य चौकी तथा अस्पताल स्थापना गर्नुका साथै चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गर्न थालेको छ । यद्यपि, जनचेतनाको कमी, अन्धविश्वास तथा परम्परागत उपचार पद्धतिमा अत्यधिक निर्भरताका कारण अझै धेरै नागरिक समयमै अस्पताल पुग्न नसकिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो,‘कुनै स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पुगेर चिकित्सकको परामर्श लिनुपर्छ । अन्धविश्वास र घरेलु उपचारमा मात्र निर्भर हुँदा समस्या जटिल बन्नसक्छ ।’

चिकित्सक पलायनको बढ्दो चुनौती

नेपालबाट चिकित्सकहरू विदेश जानेक्रम बढ्दै गएको बताउँदै डा. केसीले यो समस्या स्वास्थ्य क्षेत्रमा मात्र सीमित नरहेको बताउनु भयो । आर्थिक अवसर, पेशागत सुरक्षा, जीवनस्तर तथा भविष्यको सुनिश्चितताका कारण विभिन्न क्षेत्रका दक्ष जनशक्ति विदेशतर्फ आकर्षित भइरहेको उहाँको भनाइ छ । उहाँले भन्नु भयो,‘चिकित्सकहरूले ठूलो लगानी र कठिन परिश्रमपछि अध्ययन पूरा गरेका हुन्छन्। तर अपेक्षाअनुसारको आम्दानी, सुरक्षा र सम्मानजनक कार्य वातावरण नहुँदा धेरै चिकित्सक विदेश जान बाध्य भएका छन् ।’ उहाँले स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार नियन्त्रण, पेशागत सुरक्षा र उचित पारिश्रमिक सुनिश्चित गर्न राज्यले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गर्नु भयो।

नयाँ सरकारसँग सुधारको अपेक्षा

डा. केसीले नयाँ सरकारप्रति आशावादी रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा सुधारका लागि सकारात्मक पहल हुने अपेक्षा व्यक्त गर्नु भयो। युवा नेतृत्वको सहभागिता बढेकाले स्वास्थ्य नीतिनिर्माण, सेवा विस्तार तथा व्यवस्थापनमा सुधार आउने विश्वास उहाँले व्यक्त गर्नु भयो। ‘अहिलेको नेतृत्वले अन्तर्राष्ट्रिय अभ्यास र नेपालको आवश्यकता दुवै बुझेको देखिन्छ । स्वास्थ्य क्षेत्रमा विगतभन्दा केही सकारात्मक सुधार हुने अपेक्षा गरेका छौं,’ उहाँले भन्नु भयो । उहाँले स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले सरकारले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

बर्खायाममा फैलिने रोगहरूको जोखिम, ग्रामीण–सहरी स्वास्थ्य असमानता, चिकित्सक पलायन तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका चुनौतीहरूबीच जनचेतना, सरसफाइ र प्रभावकारी सरकारी नीतिको आवश्यकता अझै बढेको डा. संकल्प केसीको निष्कर्ष छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच दिल्लीमा गहन छलफल

काठमाडौं,२० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाले नेपाल र भारतबीच विगतका अप्ठ्याराहरूलाई नाघेर नयाँ विकास कूटनीतिको युगलाई अगाडि बढाउने विषयमा गहन

महिना दिनबाट बेपत्ता असई र युवती एउटै रुखको हागााँमा झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक,२० जेठ। करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरी बलका एक असई र एक युवती काभ्रेपलाञ्चोकको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

राष्ट्रपति कार्यालयबाट चोरिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ

काठमाडौं, २० जेठ । काठमाडौंको मनमैजु र टोखा क्षेत्रबाट प्रहरीले दुर्लभ वन्यजन्तु हात्तीको चार थान दाह्रा र लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेका

नेबरहुड फर्स्ट’ नीतिमा नेपाल प्राथमिक साझेदार” भारतीय प्रधानमन्त्री मोदी

दमक, २० जेठ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेकी पहिलो) नीतिअन्तर्गतको प्राथमिक साझेदार राष्ट्र भएको बताउनु भएको छ। उहाले नेपालसँगको विशेष र

प्रखर महिला वक्ता बनाउदै दमक ६

दमक,२० जेठ। “बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन“ भन्ने उखान नेपाली समाजमा निकै प्रचलित छ। वर्तमान समयमा ज्ञान र सीप भएर मात्र पुग्दैन, त्यसलाई

करबाट चल्ने सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिन्छ: तिमिल्सिना

काठमाडौं ,२० जेठ। सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले जनताको करबाट सञ्चालित सञ्चारमाध्यमको प्रभावकारिता मूल्याङ्कन गरिने बताउनु भएको छ । मन्त्रालयद्वारा आयोजित विषयगत समितिको बैठकमा