प्रधानमन्त्रीलाई प्रश्न

प्रधानमन्त्रीको क्षेत्रमा बोतलभित्रको पानी कि इटा मिसिएको झोल ?

आखिर प्रधानमन्त्री जन्मिएको नगरका नागरिकले कहिलेसम्म इटा मिसिएको झोलजस्तो पानीलाई नै ‘खानेपानी’ भनेर स्वीकार गरिरहनुपर्ने हो ?

 

दमक, २४ जेठ।  पारदर्शी हुनुपर्ने पानी जब इटाको धुलो घोलेको झोलजस्तो देखिन्छ, तब त्यो केवल एउटा तस्बिरको विषय रहँदैन, त्यो राज्यको जिम्मेवारीमाथिको गम्भीर प्रश्न बन्छ।

दमकका पत्रकार नगेन्द्रमणि न्यौपानेले सामाजिक सञ्जालमा सार्वजनिक गरेका दुई तस्बिर अहिले धेरैको ध्यानको केन्द्र बनेका छन्।

 

एउटा तस्बिरमा कोकाकोलाका अढाई लिटरका पाँचवटा बोतल रातो र धमिलो पानीले भरिएका छन् भने अर्को तस्बिरमा एक वृद्ध व्यक्ति ट्वूबेलको छेउमा उभिएर त्यही पानी भरिएका दुई बोतल समातेका देखिन्छन्।

पहिलो नजरमा हेर्दा यी बोतलमा पानी नभई इटाको धुलो मिसाइएको झोल राखिएको जस्तो लाग्छ। तर वास्तविकता त्यस्तो होईन ।
यो पानी कुनै प्रयोगशालामा तयार गरिएको नमुना होइन, दमक नगरपालिका वडा नम्बर १० का स्थानीयले दैनिक उपभोग गर्न बाध्य भएको ट्वूबेलको पानी हो।

 

स्थानीयका अनुसार यो पानीको रङ, गन्ध र गुणस्तर लामो समयदेखि चिन्ताको विषय बनेको छ। फिल्टर गरेर प्रयोग गर्दा पनि पानी पूर्ण रूपमा सुरक्षित र पिउन योग्य बन्न नसक्ने अवस्था रहेको उनीहरूको गुनासो छ। स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने जोखिम हुँदाहुँदै पनि विकल्पको अभावमा धेरै परिवार यही पानी प्रयोग गर्न बाध्य छन्।

 

तस्बिर सार्वजनिक गर्दै न्यौपानेले व्यंग्यात्मक शैलीमा लेख्नु भएको छ , “झापाको दोस्रो पुरानो र ठूलो नगरपालिका दमक। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर। अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को निर्वाचन क्षेत्र। तर आजसम्म सबै वडामा शुद्ध खानेपानी पुगेको छैन। बजेट र विकासका ठूला कुरा सुन्न पाइन्छन्, तर यथार्थ यही हो।”

 

उहाँको यो टिप्पणी केवल सामाजिक सञ्जालको अभिव्यक्ति मात्र होइन, वर्षौंदेखि आधारभूत सुविधाबाट वञ्चित स्थानीय नागरिकको पीडाको प्रतिनिधित्व पनि हो।

 

विडम्बना के छ भने, यही क्षेत्रबाट पटक–पटक राष्ट्रिय नेतृत्व जन्मियो, विकास र समृद्धिका ठूला नारा गुञ्जिए, अरबौंका योजना घोषणा भए। तर दमकको दक्षिणी भेगका धेरै नागरिक आज पनि सुरक्षित खानेपानीको सामान्य अधिकारबाट वञ्चित छन्।

 

विशेषज्ञहरूले आर्सेनिक तथा अन्य प्रदूषित तत्व मिसिएको पानीले दीर्घकालीन रूपमा छाला, कलेजो, मिर्गौला र अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिँदै आएका छन्। तर स्थानीयका लागि अहिलेको प्रश्न स्वास्थ्यभन्दा पहिले बाँच्नका लागि पानीको व्यवस्था कसरी गर्ने भन्ने बनेको छ।

 

विकासका भाषण र उद्घाटनका तस्बिरभन्दा बाहिर निस्केर राज्यले अब नागरिकको भान्सासम्म पुग्न आवश्यक देखिएको छ। आखिर प्रधानमन्त्री जन्मिएको नगरका नागरिकले कहिलेसम्म इटा मिसिएको झोलजस्तो पानीलाई नै ‘खानेपानी’ भनेर स्वीकार गरिरहनुपर्ने हो ? दमक–१० का बासिन्दाले अहिले यही प्रश्नको जवाफ खोजिरहेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८