काठमाडौं,२६ जेठ । परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार काठमाडौंमा ‘परियार सेवा समाज’को ३१ औं स्थापना दिवसको अवसरमा समाजले गरेको कार्यक्रममा वक्ताहरुले विसे नगर्चि सबैको प्रेरक भएको बताएका छन्। पूर्वराजदूत पदम सुन्दासले देशमा पछिल्लो समय बढ्दै गएको जातिय विभेद तथा दलितमाथिको अत्याचार विरुद्ध देशभरीका दलितहरु एकजुट हुन आह्वान गरेका छन् ।
परियार सेवा समाजका अध्यक्ष बल बहादुर सुन्दासले देशभरी ठूलो उपस्थिति रहेको दलित समूदाय एक नहुँदा उनीहरुमाथि दमन बढेको बताउनु भएको छ । उहाँले परियार समाज मात्रै नभएर ६० लाख दलित एक भएर प्रतिवादमा उत्रनुपर्नेमा जोड दिनु भएको छ। संविधान सभा सदस्य सुजाता परियारले लामो संघर्षपछि संविधानमार्फत दलितका हकअधिकार लिपिबद्ध गरिए पनि अझै लागु हुननसकेको भन्दै दुःख व्यक्त गर्नु भएको छ।
डा.मित्र परियारले देशमा एकपछि अर्को गर्दै दलित समुदायमाथि दमन बढ्न थालेकाले त्यस विषयमा गम्भीर समिक्षा गरेर सशक्त आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले केही महिनाभित्रमा देशभर दलित युवा युवतीहरु कथित उपल्लो जातिय सोचको शिकार भएको तर दलितहरु मौन भएकोप्रति आक्रोश व्यक्त गर्नु भयो। ‘हालै जनक परियार बोलेकै भरमा हप्ता दिन हिरासत बस्नुभयो, सिन्धुलीका श्रीकृष्ण विकको न्याय घाममा सुख्यो, दिपा नेपाली विभेदविरुद्ध सडकमा छन्, अनि खगेन्द्र सुनारहरु मौन बस्नु भएको छ, हामी विभक्त छौं’, परियारले भन्नु भयो। पूर्वसांसद लक्ष्मी परियारले समाजलाई थप सशक्त भएर दलितका मुद्दाहरुलाई बुलन्द बनाउन होस्टेमा हैंसे गर्न तयार रहेको बताउनु भयो।
विसे नगर्चि एकताको प्रतिक नेपालका अध्यक्ष राम कुमार रणपालले विसे नगर्चि सम्पूर्ण दलितहरुको प्रेरक भएकाले उहाँको सालिकहरु बनाउने क्रम जारी रहेको बताउनु भयो । जेनजी यूनाइटेडका संयोजक जनक परियारले दलित समुदायका युवायुवतीहरु माथि दमन बढेकाले अफूहरु थप सशक्त भएर अगडि बढ्नुपर्नेमा जोड दिनु भएको छ। अधिवक्ता सितारमा घलेले संविधानले दलित तथा उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गरेपनि समाजको चेतना स्तरमा परिवर्तन नहुँदा उनीहरु अझै पीडामा बाँच्न बाध्य भएको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले ३१ वर्षसम्म निरन्तर समाज अगाडि बढाईरहेको र त्यसलाई थप सशक्त बनाउन सबैलाई साथ दिन अपिल गर्नु भयो।
महासचिव अन्जान गौतमले परियार सेवा समाज विभक्त भएर भन्दा एकजुट भएर सामाजिक उत्पीडन विरुद्ध लड्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा गोरखा नगरपालिका पोखरीथोकमा सालिक निर्माणको मुख्य भूमिका खेल्ने समाजका अध्यक्ष अप्र मेजर बल बहादुर सुन्दास, काठमाडौं चन्द्रागिरी नगरपालिका बाडभंज्याङमा ‘विसे नगर्चि स्मृति वाटिका’ निर्माण समितका अध्यक्ष दिनेश कुमार परियार र बुटवल उप–महानगर पालिका मणि मुकुन्द सेन उद्यान पार्क फूलबारीमा ‘विसे नगर्चि एकताको प्रतिक नेपाल’का अध्यक्ष रामकुमार रणपाललाई समाजले सम्मान गरेको छ ।









