दमक| २ असार |
कोशी प्रदेश सरकारले हिमाली तथा पहाडी क्षेत्रमा मानव बसोबास योग्य स्थानको पहिचान गरी १० वटा साना शहर स्थापना गर्ने तयारी थालेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले सामाजिक सञ्जालमार्फत यस्तो योजना सार्वजनिक गर्दै सम्बन्धित स्थानीय तहसँगको समन्वयमा सम्भावित स्थानहरूको अध्ययन गरी कार्यान्वयन प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको हो।
मुख्यमन्त्री कार्कीका अनुसार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा व्यवस्थित बसोबास, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा ग्रामीण क्षेत्रको आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित साना शहर विकासको अवधारणा अघि सारिएको हो।
उहाँले मानव बसोबासका लागि उपयुक्त स्थानको पहिचान गरी योजनाबद्ध रूपमा नयाँ बस्ती तथा शहरी केन्द्र विकास गरिने संकेत गर्नुभएको छ।
यस योजनाले पहाडी तथा हिमाली क्षेत्रबाट भइरहेको बसाइँसराइ नियन्त्रण गर्न, स्थानीय उत्पादन तथा पर्यटन प्रवर्द्धन गर्न र दुर्गम क्षेत्रको विकासलाई गति दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तस्वीर : ए आई









