कोशी प्रदेशद्वारा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक

विराटनगर,२ जेठ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणलाई मूल लक्ष्य बनाएको सरकारले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, सूचना प्रविधि र सुशासनलाई प्राथमिकतामा राखेको जनाएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले सोमबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक गतिविधि विस्तार, उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा नागरिकको जीवनस्तर सुधारमा बजेट केन्द्रित गरिएको बताउनु भएको छ ।

 

प्रदेश स्थापना भएयताको यो तेस्रो ठूलो बजेट हो । चालु आर्थिक वर्षको प्रारम्भिक बजेटभन्दा १२.७४ प्रतिशत ठूलो आकारको बजेट ल्याइएको सरकारले जनाएको छ । कुल बजेटमध्ये २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ भने १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ । क्षेत्रगत रूपमा सडक तथा सहरी पूर्वाधार विकासलाई सबैभन्दा बढी प्राथमिकता दिँदै १२ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको छ । ऊर्जा, खानेपानी, सिँचाइ तथा सरसफाइ क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ तथा पर्यटन, वन तथा वातावरण क्षेत्रमा ३ अर्ब ४९ करोड रुपैयाँ छुट्याइएको छ ।

 

सरकारले आगामी दुई वर्षलाई ‘कोशी प्रदेश भ्रमण वर्ष’ घोषणा गरेको छ । पर्यटन पूर्वाधार विकास, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धन र पर्यटकीय गन्तव्यको प्रवद्र्धनका कार्यक्रम बजेटमा समेटिएका छन् । यस वर्षको बजेटको विशेष आकर्षण सूचना प्रविधि र कृत्रिम बौद्धिकता एआई बनेको छ । धनकुटाको चौबिसे क्षेत्रमा आइटी पार्क स्थापना तथा सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै पाँच हजार युवालाई एआई तथा सूचना प्रविधिसम्बन्धी सीप विकास तालिम दिने कार्यक्रम पनि घोषणा गरिएको छ । प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली अनिवार्य गर्ने नीति समेत बजेटमा समावेश गरिएको छ । यात्रु सुरक्षा, सडक अनुशासन तथा सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने सरकारको योजना छ ।

 

सामाजिक क्षेत्रतर्फ मेचीनगर र रंगेलीमा रहेका प्रयोगविहीन कोभिड होल्डिङ सेन्टरलाई सुधारगृह तथा पुनःस्थापना केन्द्रका रूपमा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । महिला सशक्तीकरणका लागि ‘सक्षम छोरी’ कार्यक्रम पनि बजेटमा समेटिएको छ । तर बजेटमा समावेश गरिएको ‘दक्षिण एसियाली तन्त्र–वास्तु तथा ज्योतिष अध्ययन अनुसन्धान केन्द्र’ भने सार्वजनिक भएसँगै चर्चाको विषय बनेको छ । संस्कृति, परम्परा तथा ज्ञान प्रणाली संरक्षणका नाममा ज्योतिष, वास्तु तथा तान्त्रिक शास्त्रको अध्ययन–अनुसन्धानका लागि केन्द्र स्थापना गर्ने योजना बजेटमा समावेश गरिएको छ ।

प्रतिपक्षको टिप्पणी : ‘दिशाहीन र परम्परागत’

यता प्रमुख प्रतिपक्षी नेकपाले बजेटलाई परम्परागत र दिशाहीन भएको टिप्पणी गरेको छ । कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बजेटले प्रदेश सरकारको औचित्य माथि उठिरहेका प्रश्नको जवाफ दिन नसकेको बताउनु भयो । बजेटले नयाँ मार्गचित्र प्रस्तुत गर्नुपर्ने भए पनि पुरानै ढाँचाको निरन्तरता मात्र देखिएको उहाँको भनाइ छ । सरकारले राखेको ५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य र राजस्व संकलनको अनुमान यथार्थपरक नरहेको आङ्बोले बताउनु भयो । ‘सरकारले अनुमान गरेको राजस्व उठ्ने अवस्था देखिँदैन । अहिलेको आर्थिक गतिविधिको आधारमा ५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न पनि कठिन छ,’ उहाँले भन्नु भयो।

 

आङ्बोले बजेटले स्पष्ट प्राथमिकता निर्धारण गर्न नसकेको दाबी गर्नु भयो । शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्र अपेक्षाकृत कमजोर देखिएको तथा सबै क्षेत्रलाई समेट्ने प्रयासमा बजेट आफैं अलमलिएको उहाँको टिप्पणी छ । प्रदेश सरकारले विद्युत् उत्पादन तथा प्रसारण लाइनमा गरेको लगानी प्रस्तावलाई समेत उनले प्रश्न उठाएका छन् । प्रदेशको क्षेत्राधिकार र आवश्यकताभन्दा बाहिर गएर अनुत्पादक क्षेत्रमा लगानी केन्द्रित गरिएको उनको आरोप छ ।

 

निजी क्षेत्रलाई विश्वासमा लिएर आर्थिक गतिविधि विस्तार गर्ने तथा साना तथा मझौला उद्योग प्रवद्र्धन गर्ने ठोस कार्यक्रम नदेखिएको आङ्बोले बताए । निजी क्षेत्रलाई परिचालन नगरी रोजगारी सिर्जनाको लक्ष्य पूरा हुन नसक्ने उनको भनाइ छ । पहाडी जिल्लाबाट बढ्दो बसाइँसराइ, गाउँ रित्तिने समस्या तथा श्रमजीवी वर्गका मुद्दा बजेटमा पर्याप्त रूपमा सम्बोधन नभएको भन्दै उनले असन्तुष्टि जनाए ।

 

निजी क्षेत्रको जोड :‘कार्यान्वयन महत्वपूर्ण’

बजेटप्रति सञ्चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधिले भने सकारात्मक प्रतिक्रिया दिँदै कार्यान्वयन पक्षमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले बजेट समग्रमा सकारात्मक रहेको बताउनु भयो । पत्रकारिता, सूचना प्रविधि तथा युवा लक्षित कार्यक्रम समेटिनु सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले बजेट राम्रो आएको प्रतिक्रिया दिनु भयो । उत्पादन, पूर्वाधार र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राखिनु सकारात्मक रहेको उल्लेख गर्दै उनले प्रभावकारी कार्यान्वयनमा जोडदिनु भयो  ।

 

उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले बजेटका कार्यक्रमभन्दा कार्यान्वयन पक्ष महत्वपूर्ण हुने बताउनु भयो । बजेटमा समेटिएका योजना समयमै कार्यान्वयन हुन सके प्रदेशको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने उहाँको धारणा छ । राउतले बजेटले निजी क्षेत्रका केही अपेक्षा सम्बोधन गरे पनि त्यसको वास्तविक परिणाम कार्यान्वयनबाट मात्रै देखिने उल्लेख गर्नु भयो।

 

सरकारले बजेटलाई आर्थिक रूपान्तरण, सुशासन र पूर्वाधार विकासको आधार बनाउने दाबी गरेको छ । तर प्रतिपक्षले बजेटलाई लक्ष्य ठूलो र कार्यान्वयन क्षमता कमजोर भएको दस्तावेजका रूपमा व्याख्या गरेको छ । बजेटको प्रभावकारिता भने आगामी वर्षको कार्यान्वयन र उपलब्धिले नै पुष्टि गर्नेछ ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नगरपालिकाले दियो दिगो विकास व्यवस्थापनका लागि दुई दिने लेखा व्यवस्थापन तालिम

दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो

कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन सहसचिव सापकोटा

काठमाडौं ,२ असार। शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले निजी शिक्षालयहरु कानुनी परिधिभित्र बसेर काम गर्न सुझाव दिनु भएको छ । उहाँले कानुनी दायरा

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ

काठमान्डौं २ असार ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार उनलाई राहदानी (पासपोर्ट) खरिद प्रकरणको

शिक्षा र स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

काठमाडौं ,२ असार। शिक्षा उद्यमी उमेश श्रेष्ठले नेपाललाई शिक्षाको हबका रुपमा विकास गर्न सकिन ेबताउनु भएको छ । उहाँँले शिक्षा, प्रविधि र एआईको हबका रूपमा

मन्त्री मेहता र राजदूत योङबीच भेट, कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

काठमाडौं, २ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत महामहिम पार्क ताय योङबीच शिष्टाचार भेटघाट भएको छ।

’बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्छ’ : सांसद थापा

काठमाडौं,२ असार । प्रतिनिधिसभा सांसद विक्रम थापाले अर्थमन्त्रीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पूर्ण रूपमा कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नसक्ने बताउनु भएको छ। मंगलबार