दमक, २ असार । दमक नगरपालिका वडा नं. ८ स्थित वडा कार्यालयमा मंगलबार टोल विकास संस्थाका पदाधिकारीहरूका लागि आयोजित दुई दिवसीय लेखा व्यवस्थापन तालिमको दोस्रो दिन सम्पन्न भएको छ।
कार्यक्रममा वडा अध्यक्ष धर्मप्रसाद दाहाल, वडा सदस्य हरी माया चुडाल, आर्थिक प्रशासन शाखा प्रमुख देवी प्रसाद कोईराला लगायतको उपस्थिति रहेको थियो। भने प्रशिक्षक धनबहादुर पाण्डेले गराउनु भएको थियो । उहाँले सहभागी हरूलाई विभिन्न देशको उदाहरण दिँदै यस्तो खालका कार्यक्रमहरू किन पनि महत्वपूर्ण छन् भन्ने बारे जानकारी गराउनुभएको थियो।
विशेषगरी लेखा व्यवस्थापन तालिमले टोलमा रहेका विभिन्न संघसंस्थामा आबद्ध रहेका व्यक्तिहरूलाई अथवा पदाधिकारीहरुलाई उनीहरूको आर्थिक पक्षका बारेमा विभिन्न तालिम दिएर आत्मबल पठाउनुका साथै यावत विषयमा आफै गर्न सक्ने क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
दमक नगरपालिकाको आयोजनामा सम्पन्न उक्त तालिममा टोल विकास संस्थाका पदाधिकारीहरूलाई लेखा व्यवस्थापन कसरी गर्न सकिन्छ, आर्थिक पारदर्शिता, आम्दानी र खर्च अभिलेखीकरण, वित्तीय अनुशासन तथा संस्थागत सुशासन बारे विभिन्न विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न टोल विकास संस्थाका प्रतिनिधि तथा सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो।
यस्ता कार्यक्रमहरूले संस्थामा आबद्ध रहेका पदाधिकारीहरूको क्षमता अभिवृद्धि भई स्थानीय तहमा सुशासन र विकासका गतिविधि थप प्रभावकारी बन्न सक्ने पालिकाले विश्वास व्यक्त गरेको छ ।









