झापा,३ असार ।नेपाली चिया उद्योग इतिहासकै सबैभन्दा ठूलो संकटमा परेको छ। इलामका तिरपन्न वटा अर्थोडक्स चिया उद्योग बन्द भइसकेको अवस्थामा, भोलि बिहीबारदेखि झापाका एउटा सरकारी र चारवटा सहकारी सहित सबै बतिस वटा चिया उद्योगहरू पनि पूर्ण रूपमा बन्द हुने भएका छन्। उद्योग बन्द भएसँगै चिया क्षेत्रमा कार्यरत करिब ६० हजार श्रमिक र कर्मचारीहरूले प्रत्यक्ष रूपमा रोजगारी गुमाउने निश्चित भएको छ।
नेपाल चिया उत्पादक संघका अनुसार, गत मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागले लागू गरेको नयाँ ’स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ अर्थात् एस.ओ.पी. का कारण यो अवस्था सिर्जना भएको हो। भारतीय नयाँ नीतिका कारण नेपालबाट भारततर्फ चिया निर्यात हुन नसकेको डेढ महिना भइसकेको छ। भारत पु¥याइएको चियाको ल्याब टेस्ट रिपोर्ट आउन २० देखि २५ दिन लाग्ने र रिपोर्ट कमजोर आएमा चिया नै नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियम भारतीय पक्षले थपिदिएको छ। यसले गर्दा नेपाली चिया व्यवसायीले भारत पठाइसकेको चियाको पैसा पाउने कि नपाउने भन्ने समेत कुनै टुङ्गो छैन।
नेपालमा उत्पादित चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबरको रहेको छ, जसमध्ये ५ अर्ब बराबरको चिया भारत निर्यात भई देशमा विदेशी मुद्रा भित्रिने गरेको थियो। तर, अहिले चिया गोदाममै थन्किएपछि उद्योगीहरूले किसानलाई हरियो पत्तीको मूल्य, विद्युत् महसुल र भ्याट समेत तिर्न नसक्ने अवस्था आएको छ। संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुली र वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले सरकारले यो समस्याको तत्काल कूटनीतिक समाधान नगरेसम्म उद्योगहरू नखोलिने चेतावनी दिनुभएको छ।
समस्या समाधानका लागि संघले झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र समेत बुझाइसकेको छ। ६० हजार मजदुरको रोजीरोटी र अर्बौँको चिया उद्योग जोगाउन सरकारले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी नै छ।









