काठमाडौं ८ असार । गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको आरोप लगाउँदै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ ।
सोमबार (असार ८) अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले संयुक्त रूपमा आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन् ।
उजुरीकर्ताहरूले हिरासत कक्षभित्र आफूहरूमाथि मानसिक दबाब सिर्जना गरिएको, ज्यान मार्ने धम्की दिइएको र गम्भीर मानव अधिकार हनन भएको आरोप लगाएका छन् । उनीहरूले घटनाको तत्काल स्थलगत अनुगमन गरी निष्पक्ष छानबिन गर्न आयोगसँग माग गरेका छन् ।
उजुरीमा गत जेठ १९ गते गृहमन्त्री गुरुङको टोली सोह्रखुट्टे प्रहरी वृत्तको हिरासत कक्षमा पुगेको र त्यहाँ आफूहरूमाथि धम्कीपूर्ण व्यवहार भएको दाबी गरिएको छ ।
उजुरीकर्ताहरूले घटनाको सत्यतथ्य पत्ता लगाउन सोह्रखुट्टे प्रहरी वृत्तको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख र ड्युटी रजिस्टर नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन माग गरेका छन् ।
यस्तै, आरोप पुष्टि भएमा गृहमन्त्री गुरुङ तथा घटनामा संलग्न व्यक्तिहरूमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनसम्बन्धी कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा परेको उजुरीमाथि अब आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ्ने बताइएको छ ।









