काठमाडौं,९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तेस्रो दिन आज महाधिवेशनको बन्दसत्र औपचारिक रूपमा अघि बढेसँगै नेताहरूले विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । महाधिवेशन स्थलमा नेताहरूले आफ्ना राजनीतिक धारणा, पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र भावी नेतृत्वबारे आ–आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै प्रतिस्पर्धामा उत्रिएका हुन् ।सांसद रमेश प्रसाईंले केन्द्रिय सदस्य र पदाधिकारी दुवै चरणमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाँले पार्टीभित्र योग्यताको आधारमा मूल्याङ्कन हुनुपर्नेमा जोड दिँदै राम्रो काम गर्ने नेताहरूलाई पुरस्कृत र कमजोर कार्यसम्पादन गर्नेहरूलाई दण्डित गर्ने परम्परा स्थापित हुनुपर्ने बताउनु भएको छ । प्रसाईंले आफू सहमहामन्त्री पदमा आकांक्षी रहेको स्पष्ट पार्दै अन्तिम निर्णय पार्टीका सार्वभौम सदस्यहरूले गर्ने उल्लेख गर्नु भएको छ।
उहाँका अनुसार राजनीति केवल पद प्राप्तिको विषय नभई जिम्मेवारी पूरा गर्ने माध्यम हो । ‘नेताले राम्रो गरेको छ भने पुरस्कृत गर्ने वेला यही हो, नेताले आफ्नो जिम्मेवारीलाई न्याय गर्न सकेको छैन भने दण्डित गर्ने वेला पनि यही हो,’ उहाँले भन्नु भयो। उहाँले पार्टीमा पारदर्शिता, निष्पक्षता र सदस्यहरूको निर्णायक भूमिकामाथि विश्वास व्यक्त गर्नु भएको छ । त्यस्तै, सांसद सागर ढकालले खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । उहाँले पार्टीभित्र डिजिटल प्रणाली, इ–भोटिङ र निर्वाचन प्रक्रियामा प्राविधिक सुधार आवश्यक रहेको बताउनु भएको छ ।
ढकालले हालको बन्दसत्रमा देखिएको प्राविधिक समस्या स्वाभाविक भएको उल्लेख गर्दै नयाँ अभ्यास गर्दा आउने चुनौतीका रूपमा यसलाई लिनुपर्ने धारणा राख्नु भएको छ । उहाँका अनुसार पार्टीले विदेशमा रहेका सदस्यहरूको मतदानलाई समेत समेट्ने प्रयास गरिरहेको छ । ढकालले पार्टीभित्र नेतृत्व चयन पदको लागि मात्र नभई सामूहिक निर्णय र डेलिभरीका लागि हुनुपर्नेमा जोड दिनु भएको छ । उहाँले राजनीति व्यक्तिगत प्रतिस्पर्धाभन्दा पनि सेवा र जिम्मेवारीको क्षेत्र भएको बताउनु भएको छ । यसैबीच, अधिवक्ता यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । उहाँले आफूलाई पार्टी सदस्यहरूले नै उक्त पदका लागि सिफारिस गरेको दाबी गर्दै प्रारम्भिक चरणमा खुला केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने र त्यसपछि पदाधिकारी तहमा अघि बढ्ने योजना रहेको बताउनु भएको छ ।
न्यौपानेले पदभन्दा पनि काम गर्ने प्लेटफर्म महत्वपूर्ण भएको उल्लेख गर्दै पार्टी नीति निर्माण, कानुन र संविधान संशोधनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्ने र सदस्यहरूको विश्वास जित्नु नै प्रमुख लक्ष्य भएको बताउनु भएको छ । महाधिवेशनमा उम्मेदवारी घोषणासँगै रास्वपाभित्र नेतृत्व चयन प्रक्रिया औपचारिक प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरेको छ ।









