काठमाडौँ,१३ असार ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशन भद्रगोल व्यवस्थापन र विविध चुनौतीका बीच सकारात्मक सन्देश छाड्दै शुक्रबार समापन भएको छ। तीन दिनका लागि तय गरिएको महाधिवेशन केही प्राविधिक र व्यवस्थापकीय ढिलाइका कारण ६ दिनसम्म लम्बिए पनि यसले नेपाली राजनीतिमा केही अभूतपूर्व र रूपान्तरणकारी परिवर्तनको ढोका खोलेको छ।
आज हामी रास्वपा महाधिवेशनका ती तीन शक्तिशाली र सकारात्मक पक्षहरू प्रस्तुत गर्दैछौँ, जसले देशको राजनीति बदल्ने सामथ्र्य राख्छन्।
१. राजनीतिमा ’महिला म्याजिक’ र ऐतिहासिक उपस्थिति
यो महाधिवेशनको सबैभन्दा सुन्दर र क्रान्तिकारी पक्ष भनेको महिला नेतृत्वको बलियो उदय हो। निर्वाचित उन्नसय सदस्यीय केन्द्रीय कमिटीमा उन्नचास जना अर्थात् झन्डै ५० प्रतिशत महिला नेताहरू विजयी भएका छन्। उम्मेदवारी दिएका महिलामध्ये एकसठी प्रतिशतभन्दा बढी निर्वाचित हुनुले नयाँ पुस्ता लैङ्गिक समावेशिता र महिला नेतृत्वप्रति कति उदार र सचेत छ भन्ने प्रमाणित गरेको छ। नीति निर्माणको केन्द्रमा महिलाहरूको यो तहको हस्तक्षेप नेपाली राजनीतिक इतिहासमै एउटा उदाहरणीय कोसेढुङ्गा हो।
२. प्रविधिको प्रयोगः प्रवासबाटै मतदान
नेपाली राजनीतिको इतिहासमा पहिलो पटक, रास्वपाले डायस्पोरा अर्थात् विदेशमा रहेका नेपालीहरूलाई पनि नेतृत्व चयनको प्रक्रियामा प्रत्यक्ष रूपमा सामेल गराएको छ। प्रवास कमिटीका १ सय सडसठी जना महाधिवेशन प्रतिनिधिहरूले विदेशमै बसेर मोबाइल एपमार्फत मतदान गरेका छन्। यसले प्रविधिको सही सदुपयोग गर्दै आगामी दिनमा प्रवासमा रहेका लाखौँ नेपालीलाई देशको निर्णय प्रक्रियामा कसरी जोड्न सकिन्छ भन्ने बलियो मार्गचित्र प्रस्तुत गरेको छ।
३. पुराना मर्यादाक्रमको अन्त्य र नयाँ पुस्ताको आगमन
यो महाधिवेशनले वर्षौँदेखि नेपाली राजनीतिमा कायम रहेको ’सिट र मर्यादाक्रम’ को अग्लो पर्खाललाई भत्काइदिएको छ। पुराना नेताहरूको दबदबा र परम्परागत शैलीलाई विस्थापित गर्दै राजनीति अब पूर्ण रूपमा नयाँ पुस्ताको हातमा सरेको छ। तल्लो तहका प्रतिनिधिहरूले प्रत्यक्ष चुनाव मार्फत आफ्ना नेता आफैँ चुन्ने अवसर पाएका छन्, जसले आन्तरिक लोकतन्त्रलाई थप चलायमान बनाएको छ।
पार्टी स्थापनाको छोटो समयमै महाधिवेशन गर्नु आफैँमा एउटा उपलब्धि हो। व्यवस्थापकीय कमजोरी र आन्तरिक गुटबन्दीका केही बाछिटाहरू देखिए पनि पुराना दलहरूको परम्परागत जँजिर तोड्न यो महाधिवेशन सफल देखिएको छ। नीति, विधि र अभ्यासलाई अझै सुदृढ गर्दै अघि बढेमा यसले नेपाली समाज र समग्र राजनीतिमा ठुलो रूपान्तरण ल्याउने अपेक्षा गर्न सकिन्छ।
चितवन महाधिवेशनबाट फर्किएका प्रतिनिधिहरूको मनोबल र उनीहरूले बोकेको परिवर्तनको एजेन्डाले नै अब रास्वपाको भविष्य र देशको राजनीतिक दिशा तय गर्नेछ।









