काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ।
विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार देशभरका सबै क्याम्पस प्रमुखहरूलाई पत्राचार गर्दै यस सम्बन्धमा आवश्यक प्रक्रिया तत्काल अगाडि बढाउन निर्देशन दिएको हो। विश्वविद्यालय अनुदान आयोग (यूजीसी) र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आदेशअनुसार त्रिविले यो कदम चालेको जनाएको छ।
त्रिविका उपप्रशासक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा शिक्षा मन्त्रालयको २०८३ असार ९ गतेको निर्णय र पत्राचारलाई मुख्य आधार बनाइएको छ।
शिक्षण संस्थाहरू र विश्वविद्यालय परिसरलाई दलीय राजनीतिको प्रभावबाट मुक्त राख्ने। विद्यार्थीहरूका साझा र वास्तविक एजेन्डाहरूलाई दलीय स्वार्थभन्दा माथि उठेर सुनिश्चित गर्ने। राजनीतिक दबाब र आन्दोलनका कारण खस्कँदै गएको शैक्षिक वातावरण सुधार्दै विश्वविद्यालयको गरिमा कायम राख्ने।
यो निर्देशन कार्यान्वयनमा आएसँगै लामो समयदेखि क्याम्पसहरूमा क्रियाशील रहँदै आएका राजनीतिक दल आबद्ध विद्यार्थी संगठनका कमिटी तथा संरचनाहरू हट्नेछन्, जसले त्रिविको समग्र प्रशासनिक र शैक्षिक सुधारमा दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।









