काठमाडौं,१९ असार । नेता धवलशम्शेर राणाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कानुन ल्याइए आफूहरू आन्दोलनमा उत्रिने चेतावनी दिनु भएको छ। शुक्रबार पत्रकार सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै राणाले गणतन्त्र र संघीयताको विरोध गर्नु आफ्नो राजनीतिक अधिकार भएको उल्लेख गर्दै त्यसलाई रोक्न खोजिए लाखौंको संख्यामा जेल जान तयार रहेको बताउनु भएको छ । उहाँले भन्नु भयो,‘यदि राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं । लाखौंको संख्यामा जेल जान तयार छौं।’
राणाले आफूहरू संवैधानिक राजतन्त्र, सनातन धर्म, किराँत र बौद्ध धर्मलाई समेट्ने हिन्दु अधिराज्य स्थापनाको लक्ष्यसहित नयाँ राजनीतिक शक्ति निर्माणमा लागेको बताउनु भएको छ। सरकारले नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप नगर्न आग्रह गर्दै उहाँले यस्तो कानुन ल्याइए नेपाली जनता चुप लागेर नबस्ने दाबी गर्नु भएको छ। दुर्गा प्रसाईं कार्यक्रममा अनुपस्थित रहेको विषयमा उहाँले कुनै मनमुटाव नरहेको स्पष्ट पार्नु भएको छ। ‘उहाँ सुकुम्बासीहरूसँगको कार्यक्रममा जानुभएको हो। हामीबीच कुनै मतभेद छैन, एउटै एजेन्डामा छौं,’ उहाँले भन्नु भयो।
राणाले विभिन्न राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गरेर नयाँ पार्टी गठनको तयारी भइरहेको जानकारी दिनु भएको छ । उहाँका अनुसार पार्टी यसै महिनाभित्र दर्ता गरिनेछ भने अर्को महिनामा औपचारिक घोषणा सभा आयोजना गरिनेछ। स्थानीय तहको निर्वाचनमा बलियो रूपमा सहभागी हुने तयारीसमेत भइरहेको उहाँले बताउनु भयो। प्रधानमन्त्रीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गरे आफूहरूले स्वागत गर्ने भए पनि वर्तमान सरकार संघीय गणतन्त्रकै पक्षमा रहेको देखिएको उहाँको टिप्पणी थियो ।
‘राजतन्त्र र हिन्दु राष्ट्र कायम गरिए हामी स्वागत गर्छौं। तर अहिले सरकारका गतिविधि हेर्दा त्यस्तो संकेत देखिँदैन,’ उहाँले भन्नु भयो। राणाले देशभरका राष्ट्रवादी, राजावादी र हिन्दुवादी नागरिकलाई निर्माणाधीन नयाँ पार्टीमा आबद्ध हुन आग्रह गर्दै यसलाई व्यक्तिको नभई विचारको पार्टी बनाउने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनु भएको छ।









