काठमाडौं, २५ असार ।गृहमन्त्री सुधन गुरुङले काठमाडौंको त्रिपुरेश्वरमा महानगरपालिकाका नगर प्रहरीसँगको विवादपछि आत्मदाह गरेका गणेश नेपालीको मृत्युबारे छानबिन अघि बढाइएको जानकारी दिनुभएको छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा वक्तव्य दिँदै गृहमन्त्री गुरुङले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको बताउनुभयो। समितिलाई घटनाको सम्पूर्ण पक्षको सुक्ष्म अध्ययन गरी सत्यतथ्यसहितको प्रतिवेदन यथाशीघ्र पेश गर्ने जिम्मेवारी दिइएको छ।
गृहमन्त्री गुरुङका अनुसार घटनासँग जोडिएका काठमाडौं महानगरपालिकाका तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ। घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिने जो(कोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने प्रतिबद्धता उहाँले संसद्मा व्यक्त गर्नुभयो।









