काठमाडौँ, २७ असार ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र (लाइसेन्स) नवीकरण नगर्ने ४४ वटा निर्माण कम्पनीहरूको लाइसेन्स खारेज गरिदिएको छ।
मन्त्रालय अन्तर्गतको निर्माण व्यवसायी प्रवद्र्धन क्षेत्रका अनुसार ऐन तथा नियमावली बमोजिम गत चैत मसान्तभित्र नियमानुसार नवीकरणका लागि आवेदन नदिने र प्रक्रिया पूरा नगर्ने ’क’, ’ख’, ’ग’ र ’घ’ वर्गका निर्माण व्यवसायीहरूको इजाजतपत्र रद्द गरिएको हो।
निर्माण व्यवसायी ऐन, २०५५ को दफा २२ बमोजिम प्रत्येक आर्थिक वर्ष समाप्त हुनुअघि नै इजाजतपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ। म्याद गुज्रिएपछि पनि थप दस्तुर तिरेर नवीकरण गर्ने निश्चित समयावधि (गत चैत मसान्त) सम्म पनि सम्पर्कमा नआएका कम्पनीहरूलाई ऐनको दफा २२ को उपदफा (३) बमोजिम स्वतः खारेज गरिएको मन्त्रालयले जनाएको छ।
लाइसेन्स खारेज भएका कम्पनीहरूले अब प्रचलित कानुनबमोजिम नयाँ प्रक्रिया पूरा नगरी सार्वजनिक खरिद तथा निर्माणका कार्यहरूमा सहभागी हुन पाउने छैनन्। मन्त्रालयले खारेज भएका ती ४४ वटा निर्माण कम्पनीहरूको सूची समेत सार्वजनिक गरेको छ।









