काठमाडौँ,२९ असार । सिंहदरबारभित्र प्रवेश गर्न नदिएको भन्दै अधिकारकर्मी एवं पीडित महिलाहरू निहारिका राजपुत र विनु यादवले सिंहदरबारको दक्षिण गेटमै धर्ना दिएका छन्। सिंहदरबार छिर्ने प्रवेश पास हुँदाहुँदै पनि प्रहरीले भित्र जान रोकेको भन्दै उनीहरूले गेट अगाडि नै विरोध प्रदर्शन गरेका हुन्।
उनीहरूले गृह प्रशासन र गृहमन्त्री सुधन गुरुङमाथि पीडितहरूबीच नै विभेद गरेको गम्भीर आरोप लगाएका छन्। केही पीडितहरूलाई गृहमन्त्री आफैँले भेट्ने गर्नुभएको छ, तर हामी लामो समयदेखि भेट्ने प्रयास गर्दा पनि समय दिइएको छैन, उनीहरूले गुनासो गरे।
प्रहरीले भित्र जान अवरोध गरेपछि आक्रोशित बनेकी विनु यादव सिंहदरबार अगाडिको सडकमा सुतेर विरोध जनाएकी थिइन् भने निहारिका राजपुत आफ्ना नाबालक छोरासहित पानीमा रुझ्दै धर्नामा बसेकी थिइन्।
सिंहदरबारको मुख्य प्रवेशद्वारमै धर्ना दिएर आवागमन प्रभावित भएपछि प्रहरीले उनीहरूलाई बलपूर्वक गेटबाट हटाएको छ।









