काठमाडौं,३० असार । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश कुमार मल्लले गणेश नेपालीको आत्मदाहपछि उत्पन्न घटनाक्रम, मिडिया हाउस अगाडि गरिएको गाडी पार्किङ र नागरिक माथि भएको भनिएको धरपकडबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद मल्लले करिब डेढ महिना देखि संसद्को रोस्ट्रमबाट प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको विरोध भइरहेको भएपनि त्यस विषयमा प्रधानमन्त्रीले जवाफ नदिएको र संसद्बाट आवश्यक कदम नचालिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।
उहाँले २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाहबाट भएको निधनले देशलाई नै स्तब्ध बनाएको भन्दै उक्त घटनालाई तोडमोड गर्ने प्रयास भइरहेको आरोप लगाउनु भएको छ । पछिल्ला दिनमा काठमाडौंका विभिन्न स्थानमा सडक अवरोध, मिडिया हाउस अगाडि गाडी तेस्र्याउने तथा राजनीतिक गतिविधिका नाममा भएका घटनाको निष्पक्ष छानबिन हुनुपर्ने उहाँको माग थियो । सांसद मल्लले मिडिया हाउस अगाडि शंकास्पद रूपमा गाडी पार्किङ गर्ने, प्रमुख प्रतिपक्ष दलका नेताको निवास खोज्दै जानेजस्ता गतिविधि गम्भीर विषय भएको बताउनु भएको छ । उहाँले यस्ता गतिविधिमा संलग्नलाई सामान्य जरिवाना मात्रै नभई कडा कारबाही गर्नुपर्ने धारणा राख्नु भएको छ।
‘राज्यले त्रास र सन्त्रासको माध्यमबाट शासन सञ्चालन गर्न खोज्नु गलत हो । यस्ता गतिविधि गर्ने र योजना बनाउन ेमाथि छिटोभन्दा छिटो छानबिन गरी कारबाही गरिनुपर्छ,’ उहाँले भन्नु भयो । उहाँले सत्तारूढ दलले विज्ञप्ति जारी गरेर मात्रै जिम्मेवारी पूरा नहुने भन्दै घटनालाई गम्भीर रूपमा लिन आग्रह गर्नु भएको छ।









