काठमाडौं,३० असार । नेकपा एमालेका सांसद ऐन बहादुर महरले बझाङको जीप दुर्घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिका तर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ को सुङुरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी गराउनु भयो।
उहाँका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत र केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको मृत्यु भएको हो। सांसद महरले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नु भयो। उहाँले दुर्घटनामा करिब १२ जना घाइते भएको र तीमध्ये ८ जना गम्भीर अवस्थामा रहेको बताउनु भएको छ। दुर्गम क्षेत्र भएकाले घाइतेलाई सडकमार्ग बाट उद्धार गर्न लामो समय लाग्ने अवस्था रहेकाले सरकारले हेलिकप्टर मार्फत उद्धार गरेको भन्दै उहाँले सरकारलाई धन्यवाद दिनु भयो।
‘नेपाल सरकारले तत्काल हेलिकप्टरको व्यवस्था गरेर घाइतेको उद्धार गर्न सहयोग ग¥यो। त्यसका लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिन चाहन्छु,’ उहाँले भन्नु भयो। उहाँले अहिले केही घाइतेको काठमाडौंस्थित ट्रमा अस्पताल र केहीको नेपालगन्जमा उपचार भइरहेको जानकारी दिँदै उनीहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो।









