सामाजिक सञ्जालमा युवा कानुन व्यवसायी : मर्यादा र आचारसंहिताको लक्ष्मणरेखा

दमक,३० असार । वकालत अत्यन्त मर्यादित, संवेदनशील र प्रतिष्ठित पेशा हो। कानुनको व्याख्या गर्ने तथा न्याय निरूपणमा अदालतलाई सहयोग गर्ने गुरुत्तर जिम्मेवारी बोकेको हुनाले नै कानुन व्यवसायीलाई समाज र अदालतले ’विद्वान्’ भनेर सम्बोधन गर्छन्। अदालतको इजलासमा बहस–पैरवी गर्दा वा कानुनी लिखतमा नामअघि ’विद्वान् अधिवक्ता’ लेखिनु केवल उपाधि होइन, यो समाजले यस पेशाप्रति व्यक्त गरेको विश्वास, सम्मान र जिम्मेवारीको प्रतीक हो।

 

तर, हाम्रो समाज अझै पनि एउटा पुरानो मनोविज्ञानबाट पूर्ण रूपमा मुक्त हुन सकेको छैन। धेरैको धारणा अझै पनि वकालत गर्ने व्यक्ति उमेरले परिपक्व, कपाल फुलेको वा अनुभवी देखिनुपर्छ, तब मात्र उसले मुद्दाको मर्म बुझ्न सक्छ र प्रभावकारी रूपमा पैरवी गर्न सक्छ भन्ने छ। अनुभवको आफ्नै महत्त्व भए पनि कानुनी ज्ञान, अध्ययन, तर्कशक्ति, अनुसन्धान र व्यावसायिक इमानदारी उमेरसँग मात्र जोडिएका विषय होइनन्।

 

यही सामाजिक दृष्टिकोणका कारण नवप्रवेशी तथा युवा कानुन व्यवसायीहरूले पेशाको सुरुआती चरणमा ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था सिर्जना हुन्छ। पर्याप्त अध्ययन, मिहिनेत र क्षमता हुँदाहुँदै पनि उमेरकै आधारमा सेवाग्राहीको विश्वास प्राप्त गर्न कठिन हुने वास्तविकता उनीहरूले भोगिरहेका छन्। यसैबीच व्यावसायिक प्रतिस्पर्धा, आफ्नो पहिचान स्थापित गर्ने चाहना तथा प्रविधिको बढ्दो पहुँचका कारण धेरै युवा कानुन व्यवसायी फेसबुक, टिकटक, युट्युब लगायतका सामाजिक सञ्जालमा कानुनी विषयवस्तु प्रस्तुत गर्न सक्रिय भएका छन्। कानुनी जानकारीमूलक भिडियो बनाउने, कानुनी सचेतना फैलाउने तथा आफ्नो ज्ञान र दक्षता डिजिटल माध्यमबाट प्रस्तुत गर्ने प्रवृत्ति उल्लेखनीय रूपमा बढेको छ।

 

सामाजिक सञ्जालमार्फत सर्वसाधारणमा कानुनी साक्षरता फैलाउनु सकारात्मक कार्य हो। तर, यस क्रममा एउटा कुरा कहिल्यै बिर्सनु हुँदैन—हामी पहिले मर्यादित कानुन व्यवसायी हौँ, त्यसपछि मात्र सामाजिक सञ्जालका प्रयोगकर्ता वा कन्टेन्ट क्रिएटर। यसैले सामाजिक सञ्जालमा सक्रिय रहँदा कानुन व्यवसायीको आचारसंहिता, २०६७ को पूर्ण पालना गर्नु प्रत्येक कानुन व्यवसायीको दायित्व हो। आजको डिजिटल प्रतिस्पर्धामा भ्यूज, लाइक र फलोअर बढाउने होडले कतै आचारसंहिताको सीमा उल्लङ्घन गरिरहेको त छैन भन्ने आत्मसमीक्षा आवश्यक छ।

 

कानुन व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आफ्नो व्यावसायिक विज्ञापन गर्न मिल्दैन। सामाजिक सञ्जालमा “म कहाँ आउनु“, “म सस्तोमा सेवा दिन्छु“, “मुद्दा जिताइदिन्छु“, “शतप्रतिशत सफलता“ जस्ता दाबी गर्नु वा भ्रामक प्रचार गर्नु पेशागत आचारसंहिताविपरीत मात्र होइन, वकालत पेशाको गरिमासँग पनि मेल खाँदैन। त्यसैगरी आफूले हेरिरहेका वा हेरिसकेका मुद्दाका पक्षहरूको परिचय, गोप्य विवरण, कानुनी रणनीति वा सेवाग्राहीसँग सम्बन्धित संवेदनशील सूचना सार्वजनिक गर्नु व्यावसायिक गोपनीयताको गम्भीर उल्लङ्घन हो। अदालतमा विचाराधीन मुद्दामाथि न्यायिक प्रक्रियालाई प्रभावित पार्ने गरी टिप्पणी गर्नु, न्यायाधीश वा न्यायपालिकाको प्रतिष्ठामा आँच पुग्ने अभिव्यक्ति दिनु पनि कानुन व्यवसायीको मर्यादासँग असंगत हुन्छ।

 

सामाजिक सञ्जालमा प्रयोग गरिने भाषा, प्रस्तुति र शैलीले पनि वकालत पेशाको गरिमा झल्काउनुपर्छ। सस्तो मनोरञ्जन, हलुका अभिव्यक्ति वा अनावश्यक विवाद सिर्जना गर्ने सामग्रीले तत्काल लोकप्रियता दिलाए पनि त्यसले कानुन व्यवसायीप्रतिको सामाजिक विश्वास कमजोर बनाउन सक्छ। वास्तवमा सामाजिक सञ्जाल युवा कानुन व्यवसायीका लागि अवसर पनि हो। यसलाई कानुनी सचेतना अभिवृद्धि गर्ने, समाजलाई सही कानुनी जानकारी दिने र आफ्नो अध्ययन, अनुसन्धान तथा बौद्धिक क्षमतालाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्ने प्रभावकारी माध्यम बनाउन सकिन्छ। तर, त्यसका लागि विवेक, संयम र आचारसंहिताको लक्ष्मणरेखाभित्र रहेर अघि बढ्न आवश्यक छ।

 

उमेरले मात्र राम्रो कानुन व्यवसायी बनाउँदैन; ज्ञान, अध्ययन, अनुसन्धान, अदालती बहसको कौशल, नैतिक आचरण र सेवाप्रतिको प्रतिबद्धताले उत्कृष्ट कानुन व्यवसायी निर्माण गर्छ। त्यसैले उमेरसँग जोडिएको सामाजिक भ्रमलाई युवा कानुन व्यवसायीहरूले सस्तो लोकप्रियताले होइन, आफ्नो बौद्धिक क्षमता, व्यावसायिक दक्षता र उच्च नैतिक चरित्रद्वारा चिर्न सक्नुपर्छ। तब मात्र ’विद्वान् अधिवक्ता’ भन्ने सम्बोधनको वास्तविक अर्थ र गरिमा अक्षुण्ण रहनेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितको सहयोगमा एनआरएनए एकजुट हुनुपर्ने अभियन्ताको जोड

काठमाडौं , भदौ १३ । गत बुधबार रसुवा–चीन सीमा क्षेत्र हुँदै आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि गैरआवासीय नेपाली ९एनआरएन०अभियन्ताहरूले तत्काल राहतसँगै दीर्घकालीन पुनर्निर्माण

भारी वर्षापछि सडकको भेलले बगाउँदा पोखरामा आमाछोरीको मृत्यु

कास्की , १३ भदौ। पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी वर्षापछि सडकमा आएको भेलले बगाउँदा आमाछोरीको मृत्यु भएको छ ।पोखरा महानगरपालिका–१७ हर्कचोक स्थित

आणविक परीक्षणविरुद्ध विश्वभर जनचेतना फैलाउँदै दिवस मनाइँदै

काठमाडौं , भदौ १३ । आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै । हरेक वर्ष अगस्ट २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।विश्वमा आणविक

बाढी–पहिरो प्रभावित विभिन्न स्थानीय तह ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषित

काठमाडौं , भदौ १३ । नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावित भएका ५ वटा जिल्लाका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद्

मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

काठमाडौं,१३ भदौ । भोटेकोशी बाढीपछि अवरुद्ध बनेको मुग्लिङ–काठमाडौं सडकखण्ड आज शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने

रसुवामा भोटेकोशी बाढीको कहर : ६१६ जनाको शव फेला, २३ सयभन्दा बढीको उद्धार

काठमाडौं , भदौ १३ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण हालसम्म ६१६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।नेपाल प्रहरीले शनिबार बिहान ७ बजे