सुन्दरहरैँचा, मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अश्लील म्यासेज पठाएको आरोप लागेका शिक्षक पक्राउ परेका छन्। घटनामा संलग्नताको आरोप लागेका विद्यालयका अन्य तीन जना शिक्षक तथा कर्मचारीलाई विद्यालयले निलम्बन गरेको छ।
घटनापछि बसेको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको संयुक्त बैठकले अनुसन्धान प्रक्रियालाई सहज बनाउन आरोपितहरूलाई कानुनी प्रक्रिया टुंगो नलागेसम्मका लागि निलम्बन गर्ने निर्णय गरेको हो। निलम्बनमा पर्नेहरू:शिक्षक तथा लेखा अधिकृत अबिरल मास्के,सङ्गीत प्रशिक्षक भीमप्रसाद नेपाल, बस चालक प्रदीप भट्टराई
विद्यालय प्रशासनले जारी गरेको सूचनामा शिक्षक तथा कर्मचारीको यस्तो आचरणसम्बन्धी विषय गम्भीर र खेदजनक रहेको उल्लेख गरिएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पत्राचार गरिसकिएको र अन्य आरोपितहरूको विषयमा पनि थप छानबिन गरी कारबाही प्रक्रिया अघि बढाइने विद्यालयले जनाएको छ।
यस घटनापछि विद्यालय परिसरमा विद्यार्थी र अभिभावकको चासो र आक्रोश बढेको छ।
कानुन विद्यार्थी समाज सुकुना मावि समाजले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइसकेकाले थप आन्दोलन वा भिडभाड नगरी अनुसन्धानमा सहयोग गर्न विद्यार्थीहरूसँग आग्रह गरेको छ।
नगर बाल सञ्जाल सुन्दरहरैँचासञ्जालले निष्पक्ष छानबिनका लागि समिति गठन भई अध्ययन भइरहेको जानकारी दिँदै अपुष्ट, भ्रामक वा अतिरञ्जित सूचनामा विश्वास नगरी आधिकारिक जानकारीको प्रतीक्षा गर्न सबै सरोकारवालासँग अनुरोध गरेको छ।
प्रहरीको भनाइ : जिल्ला प्रहरी कार्यालयले घटनाका सबै पक्षमाथि निष्पक्ष अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धान सम्पन्न भएपछि थप तथ्य सार्वजनिक गरिने र कानुनविपरीत कार्यमा संलग्न देखिएका जोकोहीलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रहरीको प्रतिबद्धता छ।








