सक्कली बिल लिने उपभोक्तालाई नगद उपहार

दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म जित्न सकिने

काठमाडौं,५ साउन । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल लिन प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गरेको छ । कर प्रणालीमा पारदर्शिता ल्याउन र व्यावसायिक कारोबारलाई अभिलेखीकरण गर्न ल्याइएको यस कार्यक्रम अन्तर्गत अब सरकारी मापदण्ड पूरा गर्ने उपभोक्ताहरूले दैनिक र पाक्षिक रूपमा ठुलो नगद राशि उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।

 

कार्यविधि अनुसार, नेपालभित्र आफ्नो व्यक्तिगत प्रयोजनका लागि वस्तु वा सेवा खरिद गर्दा एक पटकमा १०० रुपैयाँभन्दा बढीको बिल लिने उपभोक्ताहरू यस उपहार कार्यक्रममा सहभागी हुन योग्य हुनेछन् । डिजिटल भुक्तानी (विद्युतीय भुक्तानी सेवा प्रदायक) मार्फत गरिएको खरिदको विवरण प्रणालीमा स्वतः समावेश हुने व्यवस्था गरिएको छ भने, नगद कारोबारको हकमा उपभोक्ताले विभागको वेब पोर्टल वा मोबाइल एपमार्फत बिल नम्बर, प्यान नम्बर र रकम सहितको विवरण प्रविष्ट गर्नुपर्ने हुन्छ ।

 

यस योजनाको मुख्य आकर्षण उपहार राशि रहेको छ । कार्यविधि अनुसार दैनिक रूपमा गोलाप्रथा मार्फत छानिने एक जना विजेताले १ लाख ३३ हजार ३ सय ३४ रुपैयाँ प्राप्त गर्नेछन् । त्यसै गरी, हरेक महिनाको १ गते र १६ गते गरी महिनामा दुई पटक पाक्षिक बम्पर उपहारको घोषणा गरिनेछ, जसमा विजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । यद्यपि, आयकर ऐन अनुसार यस्तो आकस्मिक लाभमा लाग्ने २५ प्रतिशत कर कट्टी गरेर मात्र बाँकी रकम विजेतालाई प्रदान गरिनेछ ।

 

सबै प्रकारका बिलहरू भने यस योजनामा सहभागी हुन पाउने छैनन् । कार्यविधिले व्यावसायिक प्रयोजनका लागि गरिएका खरिद, सरकारी निकाय वा सार्वजनिक संस्थानका बिल, टेलिफोन, इन्टरनेट, विद्युत, सवारी साधन तथा ढुवानी सेवा र हवाई टिकटका बिलहरूलाई यस कार्यक्रममा समावेश नगर्ने स्पष्ट पारेको छ । साथै, स्थायी लेखा नम्बर (प्यान) नभएका व्यक्तिबाट खरिद गरिएका बिलहरू पनि मान्य हुने छैनन् ।

 

विजेता उपभोक्ताको नाम आन्तरिक राजस्व विभागको वेबसाइट र सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिनेछ । उपहार दाबी गर्नका लागि विजेताले घोषणा भएको १५ दिनभित्र सक्कल बिल, आफ्नो परिचयपत्र र बैंक खाताको विवरण सहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा निवेदन दिनुपर्नेछ ।

यदि तोकिएको समयभित्र उपहार दाबी नगरेमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने कार्यविधिमा उल्लेख छ । सरकारको यस कदमले बजारमा हुने अनधिकृत कारोबार नियन्त्रणमा सहयोग पुग्ने र उपभोक्तामा बिल लिने संस्कृतिको विकास हुने विश्वास लिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वैदेशिक रोजगार पूर्ण रूपमा ’डिजिटल’ बनाइने, काठमाडौं धाउनु पर्ने बाध्यता हट्दै

काठमाडौं,५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताउनु भएको छ ।

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ,५ साउन । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरेको छ । प्रधानमन्त्री बालेन शाहले सरकारले शिक्षा समता शुल्क र

कीर्तिपुरमा रोकिराखेको कारमा आगलागी, एक पुरुषको शव फेला

काठमाडौं, ५ साउन । काठमाडौंको कीर्तिपुरमा कारमा आगलागी भएको छ। मंगलबार साढे ११ बजेतिर कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा रोकि राखेको बा ५ च ३०३८ नम्बको कारमा

बाढी–पहिरोले ७ प्रमुख राजमार्ग ठप्प, ५१ सडक भने सुचारु

काठमाडौं,५ साउन। लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभरका सात प्रमुख राजमार्ग पूर्ण रूपमा तथा १२ राजमार्ग आंशिक रूपमा प्रभावित भएका छन्। सडक विभागले

धनुषामा ’एक विद्यार्थी एक रुख’ अभियान सुरु

जनकपुर,५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३

हर्क साम्पाङ जानकी मन्दिर आउने भएपछि जनकपुरमा विरोध प्रदर्शन

जनकपुर,५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी