काठमाडौं ,२१ भदौ । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उहाँको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन् ।
अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजन तथा विभिन्न विधाका खेलमा पहिलो हाफको १०औँ मिनेटमा ६० सेकेन्ड ताली बजाएर मेसीको राष्ट्रिय टोलीसँगको योगदानको सम्मान गरिने जनाएको हो ।
एएफएले रंगशालामा ठूलो स्क्रिनको व्यवस्था भएका स्थानमा खेल सुरु हुनुअघि संघको संस्थागत भिडियोसमेत प्रदर्शन गर्न निर्देशन दिएको छ । १०औँ मिनेटमा गरिने सम्मान मेसीले लामो समय लगाएको चर्चित १० नम्बरको जर्सीप्रति संकेत हो ।
३९ वर्षीय मेसीले गत सोमबार राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए । सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गर्नुभएका उहाँले राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाउनु भएको छ। मेसीको राष्ट्रिय टोलीको करियर सुरुवाती वर्षमा भने निराशाजनक रह्यो ।
उहाँले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजय बेहोर्नु भएको थियो भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हार व्यहोर्नु भएको थियो । तर सन् २०२१ मा कोपा अमेरिका जित्दै उहाँले अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय उपाधि दिलाउनु भयो ।
त्यसपछि सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउँदै आफ्नो करियरको सबैभन्दा ठूलो सफलता हात पार्नुभयो । फ्रान्सविरुद्धको विश्वकप फाइनलमा मेसीले दुई गोल गर्नु भएको थियो। अतिरिक्त समयपछि खेल ३–३ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि उहाँले गोल गर्नुभयो । अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकाल्दै विश्वकप उचाल्नु भएको थियो ।
त्यसपछि अर्जेन्टिनाले सन् २०२४ मा कोपा अमेरिका उपाधि रक्षा गर्दै मेसीको नेतृत्वमा अर्को ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल ग¥यो । मेसीको विश्वकप यात्रा सन् २००६ देखि २०२६ सम्मका छ संस्करणसम्म फैलिएको थियो । उहाँले विश्वकपमा ३४ खेलबाट २१ गोल गर्नुभएको छ ।
सन् २०२६ को विश्वकपमा उहाँले आठ गोल र चार असिस्ट गरेका थियो । सोही प्रतियोगितामा उहाँले अल्जेरियाविरुद्ध पहिलो विश्वकप ह्याट्रिकसमेत गर्नुभएको थियो । आठपटक बालोन डी’ओर जितिसक्नु भएको मेसीले राष्ट्रिय टोलीबाट संन्यास लिए पनि क्लब फुटबल भने जारी राख्नुहुनेछ । उहाँ अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिराख्नु भएको छ ।
यसैबीच, मेसीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय आफ्नो आत्माका लागि पीडादायी भए पनि यो सही समय भएको बताउनु भएको छ । उहाँले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सबै कुरा दिएको र देशवासीलाई खुसी तथा गौरवान्वित बनाउने प्रयास गरेको बताउनु भएको छ । एएनआई





