गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध

न्यूयोर्क, ९ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि बिहीबार साँझ राष्ट्रसंघको मुख्यालयमा महासचिव गुटेरेससँग भेट गर्नुभएको हो।

स्थानीय समयअनुसार साँझ ६ः३० बजे भएको भेट नेपाली समयअनुसार शुक्रबार बिहान ४ः१५ बजे भएको हो।
भेटमा पछिल्लो समय नेपालले भोगेको प्राकृतिक विपद्, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम तथा प्रभावित समुदायको पुनर्स्थापनाका विषय प्रमुखताका साथ उठेका छन्।

महासचिव गुटेरेसले भोटेकोशी क्षेत्रमा भएको विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो। जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध रहेको उहाँले बताउनुभयो।

गुटेरेसले युवा नेपाली प्रतिनिधिमण्डलको पनि प्रशंसा गर्नुभएको थियो। नेपालसँग आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै उहाँले आफू सन् १९७८ मा पर्यटकका रूपमा नेपाल आएको बताउनुभयो। महासचिव पदबाट निवृत्त भएपछि पनि नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

प्रधानमन्त्री शाहले नेपालप्रति देखाएको सद्भाव र सहयोगका लागि गुटेरेसलाई धन्यवाद दिनुभयो। साथै, उहाँको कार्यकाल सफलतापूर्वक सम्पन्न हुन लागेकोमा बधाईसमेत दिनुभयो।

प्रधानमन्त्री शाहले भोटेकोशी विपद्बाट नेपालले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै हिमताल फुट्ने जोखिम अझै उच्च रहेको जानकारी गराउनुभयो। यसले नेपालमा जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो जोखिमलाई अन्तर्राष्ट्रिय तहमा थप गम्भीरताका साथ उठाउनुपर्ने आवश्यकता देखाएको छ।

भेटमा नदी किनारमा जोखिममा रहेका बासिन्दाको पुनर्वास तथा विपद्पछिको हरित पुनर्निर्माणका विषयमा पनि छलफल भएको थियो। विपद्पछिको पुनर्निर्माणलाई दीर्घकालीन वातावरणीय सुरक्षासँग जोड्ने विषयमा समेत दुवै पक्षबीच कुराकानी भएको जनाइएको छ।

त्यस्तै, अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट नेपालको स्तरोन्नतिको समयसीमा थप गर्न आवश्यक समर्थनका विषयमा पनि प्रधानमन्त्री शाह र महासचिव गुटेरेसबीच छलफल भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आजको मौसम: कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौ |९ असोज | हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र

प्रधानमन्त्री बालेनले विस्वलाई दिएको सन्देश कति ससक्त?

आकस्मिक प्रतिक्रियाबाट तयारीको संस्कृतितर्फ जानुपर्ने, उत्थानशीलतामा लगानी गर्ने, बीमा र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, बलियो पूर्वाधार तथा संस्थाहरू निर्माण गर्ने, जीवाश्म इन्धनमा निर्भरता घटाउने र पूर्वसूचना तथा जीवनरक्षा प्रणाली बलियो बनाउनुपर्ने

गुटेरेससँग प्रधानमन्त्री शाहको भेट, भोटेकोशी विपद् र जलवायु संकटमा सहकार्यको प्रतिबद्धता

जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका चुनौतीप्रति संयुक्त राष्ट्रसंघ नेपालसँग ऐक्यबद्ध