दमक । १८ असोज| प्रगति युवा क्लबको छैटौँ वार्षिक साधारण सभा तथा निर्वाचनबाट सुजन बजगाईंको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ।
साधारण सभाले बद्री प्रसाद दाहालको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति पनि चयन गरेको छ।
नवनिर्वाचित अध्यक्ष बजगाईंले युवालाई सामाजिक सेवासँग जोड्दै क्लबका गतिविधिलाई थप प्रभावकारी र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामाजिक सेवा, युवाको क्षमता विकास र रक्तदानलगायत जनमुखी कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो।
कार्यक्रममा वडा अध्यक्ष प्रजापति सापकोटा, टोल विकास समितिका अध्यक्ष नेत्रप्रसाद दाहाललगायतले क्लबको सामाजिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनका लागि शुभकामना दिनुभयो।
साधारण सभासँगै आयोजित रक्तदान कार्यक्रममा क्लबका सदस्य, स्थानीय युवा तथा सर्वसाधारणको सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रमका लागि प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स उर्लाबारी शाखाले ५ हजार र एस एण्ड एस सप्लायर्सका सञ्चालक खेम सापकोटाले १ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको थियो।
कार्यक्रममा क्लबका पूर्वअध्यक्ष भरत दुलाल र केदार खनाललाई सम्मानसमेत गरिएको थियो।









