दमक | २१ असोज । झापामा बजार अनुगमनका क्रममा अखाद्य अमिलोजन्य पदार्थ बिक्रीका लागि राखिएको फेला परेपछि एक उद्योगमाथि कारबाही गरिएको छ।
अर्जुनधारा नगरपालिका–११ मा सञ्चालित ‘श्री राम अमिलो भण्डार’ (अमिलो सेन्टर) बाट करिब २ लाख २० हजार रुपैयाँ बराबरको अखाद्य अमिलोजन्य पदार्थ जफत गरी नष्ट गरिएको हो।
उद्योग सञ्चालकलाई ५० हजार रुपैयाँ नगद जरिवानासमेत गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले उद्योगबाट अखाद्य अवस्थामा रहेको अमिलोजन्य पदार्थ बरामद गरेको थियो। बरामद सामग्री नष्ट गर्नुका साथै सञ्चालकलाई जरिवाना गरिएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीमा घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रतिनिधि सहभागी थिए।
प्रशासनका अनुसार आजै कनकाई नगरपालिकाको सुरुङ्गा बजार क्षेत्रमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा उद्योगमा गम्भीर कैफियत भेटिएको थियो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६बमोजिम तत्काल कारबाही गरिएको छ ।
संयुक्त टोलीले सुरुङ्गा बजार क्षेत्रका अन्य पसल तथा फर्ममा समेत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा अधिकारी किराना पसलबाट ४ हजार १७० रुपैयाँ बराबरका म्याद नाघेका खाद्य वस्तु फेला परेका थिए। ती सामग्री जफत गरी नष्ट गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने तथा प्रचलित मापदण्डविपरीत कारोबार गर्ने व्यवसायीमाथि नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। मापदण्डविपरीत गतिविधि भेटिएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रशासनको भनाइ छ।









