दमक । २१ असोज । नेपाली कांग्रेसको आन्तरिक शक्ति संघर्षमा झापा क्षेत्र नं. ५ को दमकले नयाँ राजनीतिक संकेत दिएको छ।
वडा तहमा भएको नेतृत्व चयनको परिणामले कांग्रेसभित्र पुस्तान्तरणको बहसलाई थप बल दिएको छ भने संस्थापन इतर समूहको संगठनात्मक सक्रियता पनि चर्चामा आएको छ।
दमक नगरपालिकाका १० वटै वडामा वडा अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्वको तस्बिर स्पष्ट भएको छ। अधिकांश वडामा युवा तथा नयाँ पुस्ताका अनुहार नेतृत्वमा आएपछि दमक कांग्रेसको वडा संरचनामा पुस्तान्तरणको प्रभाव देखिएको हो।
दमकमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अधिकांश वडामा सहमतिबाट सम्पन्न भएको थियो भने वडा नं. ३ र ५ मा मतदानमार्फत नेतृत्व तथा प्रतिनिधि चयन गरिएको थियो।
१० वडामा को–को बने सभापति ?
अधिवेशनबाट वडा नं. १ मा ८८पासाङ तामाङ, वडा नं. २ मा दिप मगर, वडा नं. ३ मा केदारसिंह अधिकारी, वडा नं. ४ मा भीमराज कार्की र वडा नं. ५ मा ऋद्धि बद्री खड्का वडा सभापति निर्वाचित भएका छन्।
त्यसैगरी वडा नं. ६ मा नारायणप्रसाद भट्टराई, वडा नं. ७ मा राजेश रनपहेली, वडा नं. ८ मा राजन राई, वडा नं. ९ मा साजन राई र वडा नं. १० मा यामबहादुर विष्टले नेतृत्व सम्हालेका छन्।
यी नाममध्ये कतिपय अनुभवी भए पनि समग्र परिणाममा नयाँ पुस्ताको उपस्थिति उल्लेख्य देखिएको कांग्रेसका स्थानीय नेताहरूको बुझाइ छ।
देउवा पक्षको प्रभाव कि पुस्तान्तरणको परिणाम ?
झापा क्षेत्र नं. ५ मा कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहबीचको शक्ति समीकरण लामो समयदेखि चर्चामा रहँदै आएको छ। दमकका १० वटै वडाको परिणामपछि भने वडा तहको संगठनमा इतर पक्षले आफ्नो उपस्थिति बलियो बनाएको दाबी गर्न थालेको छ।
यद्यपि, वडा सभापतिको नतिजालाई मात्रै आधार बनाएर कुनै समूहको सम्पूर्ण संगठनात्मक शक्ति निर्धारण गर्न भने सकिँदैन। वडा समिति, क्षेत्रीय प्रतिनिधि, नगर नेतृत्व हुँदै क्षेत्रीय नेतृत्व चयनसम्मको परिणामले मात्रै कांग्रेसभित्रको वास्तविक शक्ति समीकरण थप स्पष्ट पार्नेछ।
क्षेत्र नं. ५ का २९ वडामध्ये २४ वडामा वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधि सहमतिबाट चयन भएको सार्वजनिक विवरण छ।
पुराना अनुहारसँगै नयाँ पुस्ताको दौड
क्षेत्र नं. ५ मा महिन्द्रकुमार लिम्बु, घनेन्द्र योङ्या, दिलबहादुर बुढाथोकी, डा. खगेन्द्र पाण्डव अधिकारी , वीरेन्द्र पोख्रेल, लता चापागाईं, गोमा बुढाथोकी, राजेन्द्र प्रसाई, राजु न्यौपाने र जङ्गबहादुर थापाजस्ता अनुभवी नेताहरूको उपस्थिति छ।
त्यससँगै युवा नेता तथा अग्रज पत्रकार विष्णु सुब्बाको सक्रियता, युवा नेता द्रोण दाहाल, सुनिल हताचो, विशाल अधिकारी र रोवर्ट रणपहेलीको अग्रसरता तथा स्ववियु सदस्यहरू सर्वज्ञ कन्दङ्वा, सुदिप साम्बाहाम्फे र सुमितकुमार तामाङसम्मको सक्रियताले कांग्रेसभित्र नयाँ पुस्ताको दाबीलाई बल दिएको देखिन्छ।
वडा तहमा देखिएको यही पुस्तान्तरणले आगामी नगर तथा क्षेत्रीय नेतृत्व चयनमा पनि प्रभाव पार्ने कांग्रेसका स्थानीय नेताहरूको आकलन छ।
अब नगर र क्षेत्रीय नेतृत्वमा नजर
वडा अधिवेशन सकिएसँगै कांग्रेसको ध्यान अब नगर र क्षेत्रीय नेतृत्व चयनमा केन्द्रित भएको छ। दमकका १० वटै वडामा नेतृत्व चयन भइसकेपछि नगर अधिवेशनबाट आउने परिणामलाई पनि चासोका साथ हेरिएको छ।
त्यसपछि क्षेत्रीय नेतृत्व चयन हुनेछ। झापा क्षेत्र नं. ५ को क्षेत्रीय अधिवेशनबाट सभापतिसहितका पदाधिकारी र प्रतिनिधि चयन भएपछि मात्रै दमकमा देखिएको वडा तहको समीकरणले कस्तो राजनीतिक आकार लिन्छ भन्ने थप स्पष्ट हुनेछ।
दमकका १० वटै वडाको परिणामले एउटा कुरा भने प्रस्ट पारेको छ, कांग्रेसको स्थानीय संगठनमा पुरानो पुस्तासँगै नयाँ पुस्ताको दाबी अब वडा तहबाटै बलियो रूपमा प्रस्तुत भएको छ।









