दमक, २२ असोज। दशैंको अवसर पारेर दमकमा दुईवटा खेलकुद प्रतियोगिता हुने भएका छन्।
दमक नगरपालिका वडा नम्बर ६ को खेलकुद विकास समितिले वडा स्तरीय फुटसल प्रतियोगिता र खुला दौड प्रतियोगिता आयोजना गर्न लागेको हो।
यही असोज २४ र २५ गते हुने फुटसल प्रतियोगितामा दमक नगरपालिकाका १० वटै वडाबाट खेलाडी तथा टोली सहभागी हुनेछन्।
२० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित आयोजना गर्न लागिएको प्रतियोगितामा सहभागी टोलीले प्रवेश शुल्कबापत २ हजार रुपैयाँ आयोजकलाई बुझाउनुपर्नेछ।
दमक–५ स्थित बिष्ट फुटसल मैदानमा हुने प्रतियोगिता वडा नम्बर ६ को खेलकुद विकास समितिले पहिलोपटक आयोजना गर्न लागेको हो। खेलकुद विकास समिति दमक–६ का अध्यक्ष सबिन निरौलाले प्रतियोगिताबारे जानकारी दिनुभयो।
उहाँका अनुसार प्रतियोगिताको उद्देश्य युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै वडा स्तरबाट खेलाडी उत्पादन र विकास गर्नु हो।
यसैगरी, असोज ३१ गते खुला दौड प्रतियोगिता पनि आयोजना हुने भएको छ। देशभरबाट ५ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ दौड हुनेछ।
दमक बजारस्थित शंखधर चोकबाट सुरु हुने दौड फर्निचर लाइन हुँदै पशुहाट पुगेर त्यहाँबाट सुत्लीलाइन–नगरपालिका रोड हुँदै फाल्गुनन्द चोक पुग्नेछ। फाल्गुनन्द चोकबाट पुनः फर्किएर दौड शंखधर चोकमै पुगेर विसर्जन हुनेछ।
५ किलोमिटर दूरीको दौड प्रतियोगिताका विजेताले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। सहभागी सबैलाई प्रमाणपत्र र मेडलसमेत प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुन चाहनेले ३५० रुपैयाँ शुल्क तिरेर प्रवेश गर्न सक्नेछन्। नाम दर्ता गर्नेबित्तिकै एउटा टी–सर्टसमेत उपलब्ध गराइने दमकका युवा धावक सरोज सिंहले जानकारी दिनुभयो।
युवालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्न वडा कार्यालयको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको प्रतियोगिता यी दुई खेलमा मात्र सीमित नहुने वडा अध्यक्ष टेकबहादुर थापाले बताउनुभयो।
उहाँका अनुसार चाडपर्व सकिएपछि आगामी मंसिरमा चेस, ब्याडमिन्टन तथा अन्य खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको छ।
युवाहरूलाई कुलतमा नफसाई सकारात्मक ऊर्जा र अनुशासनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा नम्बर ६ ले पहिलोपटक खेलकुदसम्बन्धी प्रतियोगिता आयोजना गर्न लागेको हो। वडाले सबै प्रकारका खेल विधालाई क्रमशः समेट्दै जाने योजना बनाएको जनाएको छ।









