पथरी, २७ कार्तिक / सृजना क्षेत्रमा सक्रिय मोरङको पथरी शनिश्चरेस्थित कला साहित्य प्रवद्र्धन समितिको मासिक रूपमा सञ्चालित कार्यक्रम ‘सृजना मझेरी’को दोस्रो शृङ्खलामा भोजकुमार राईको ‘यात्रा संस्मरण’माथि विमर्श हुने भएको छ ।
नगरपालिकाको उपसमितिका रुपमा रहेको सो समितिले सृजनात्मक गतिविधि सञ्चालनका क्रममा महिनाको अन्तिम शनिबार ‘सृजना मझेरी’ कार्यक्रम अघि बढाएको हो । जसमा पथरी शनिश्चरे ९ घर भइ विगत २८ वर्षदेखि अमेरिकामा बसोबास गर्दै सृजना क्षेत्रमा सक्रिय भोजकुमार राईको तेस्रो कृति ‘यात्रा संस्मरण’माथिको विमर्शलाई केन्द्रित मानेर शनिबार (कार्तिक २८ गते) कार्यक्रम तय गरिएको छ । पथरी शनिश्चरेमा तात्कालिन अवस्थामा सृजना क्षेत्रका उर्जाका रूपमा परिचित राईले पहिलो कृति २०४५ सालमा उपन्यास ‘अधुरो सपना’ प्रकाशित गर्नुभएको थियो । २०५५ मा दोस्रो कृति उपन्यास ‘प्रतिज्ञा’ र पछिल्लो तेस्रो कृति ‘यात्रा संस्मरण’ प्रकाशनमा ल्याउनु भएको छ । फिक्सनका रुपमा उपन्यास र नन्फिक्सनका रूपमा यात्रा संस्मरण लेख्नु भएको छ । उहाँले वडा नम्बर ९ स्थित सिंहवाहिनी माविमा ३ वर्ष शिक्षण समेत गर्नुभएको थियो ।
कार्यक्रममा लामो समयदेखि साहित्यमा सक्रिय बेलबारीका ईरान राई र पथरी शनिश्चरेका सुमन राईले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्नुहुनेछ । त्यसकासाथै कविता, गजल, गीतसहितको सृजनात्मक प्रस्तुति रहने समिति अध्यक्ष धनराज राई (अमीर)ले जनाउनु भयो । पञ्चायत माविमा हुने कार्यक्रममा मोरङ र झापाका सर्जकहरुको सहभागिता रहनेछ ।










