चार करोड रुपैयाँ लागत अनुमान

दुधे रङ्गशालामा अब “फ्लड लाइट”

झापा महिला गोल्डकपजस्ता ठूला प्रतियोगिता आयोजना हुन थालेपछि दुधे रंगशालाले जिल्लाकै प्रमुख खेलकुद केन्द्रका रूपमा पहिचान विस्तार गरिरहेको छ ।

झापा, मंसिर ६ । निर्वाचनका बेला जनतासँग गरेको खेलकुद विकासको प्रतिबद्धता कार्यान्वयन गर्दै झापाको शिवसताक्षी नगरपालिकाले दुधे रंगशालामा फ्लडलाइट जडानको प्रक्रिया अघि बढाएको छ ।

 

नगरप्रमुख मेगाहाङ थोप्राले खेलकुदका माध्यमबाट नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने योजनाअनुसार रंगशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्ने तयारी गरिएको बताएका छन् ।

 

दोस्रो झापा महिला गोल्डकपको उद्घाटनका क्रममा नगरप्रमुख थोप्राले पहिलो संस्करणको सफलतापछि खेलकुद पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनका अनुसार दुधे रंगशालामा फ्लडलाइट जडानका लागि पहिलो चरणको एक करोड तीन लाख रुपैयाँको ठेक्का आह्वान भई प्रक्रिया टुंगिएको छ । सम्झौता हुनासाथ काम सुरु हुनेछ । आवश्यक थप बजेट जुटाउन सके आगामी पुसभित्रै रंगशालामा फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाको अपेक्षा छ ।

 

‘हामी खेलकुदका माध्यमबाट शिवसताक्षी नगरलाई देशविदेशमा चिनाउन चाहन्छौँ । त्यसका लागि नगरकार्यपालिका दत्तचित्त भएर लागेको छ,’ नगरप्रमुख थोप्राले भने । उनले आगामी वर्ष आयोजना हुने तेस्रो झापा महिला गोल्डकप उद्योगी, व्यवसायी, विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सबैलाई पायक पर्ने समयमा हेर्न सक्ने वातावरण बनाउने लक्ष्यसमेत सुनाए ।

 

फ्लडलाइट जडानका लागि करिब चार करोड रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त रकममा पहिलो चरणको एक करोड तीन लाख रुपैयाँसमेत समावेश छ । अब थप डेढदेखि दुई करोड रुपैयाँ अनुदान प्राप्त भए पुसभित्रै फ्लडलाइट जडान गर्न सकिने नगरपालिकाका प्राविधिक शाखा प्रमुख इन्जिनियर उत्तम बरालले बताए । बाँकी बजेटका लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने नगरपालिकाको तयारी छ ।

 

योजनाअनुसार रंगशालाको चार कुनामा ३० मिटर अग्ला चारवटा टावर निर्माण गरिनेछ । पहिलो चरणमा टावरसँगै जेनेरेटर, ट्रान्सफर्मर र विद्युत् पुर्‍याउन आवश्यक केबलको व्यवस्था हुनेछ । दोस्रो चरणमा प्रत्येक टावरमा कम्तीमा एक हजार वाट क्षमताका बत्ती जडान गरिनेछ । प्रकाशको गुणस्तर लक्सको मापदण्डअनुसार कायम गरिने र मैदानमा १२ सयदेखि १४ सय लक्ससम्म प्रकाश पुर्‍याउने लक्ष्य रहेको इन्जिनियर बरालले बताए । पर्याप्त प्रकाशका कारण खेलाडी तथा खेल सामग्रीको छायाँले खेलमा बाधा नपुग्ने गरी व्यवस्था गरिने उनको भनाइ छ ।

 

फ्लडलाइट जडानपछि दुधे रंगशालामा फुटबलसँगै एथलेटिक्सलगायतका खेलकुद गतिविधि रातिको समयमा पनि सञ्चालन गर्न सकिनेछ । यसले प्रतियोगिता आयोजना गर्ने समय बढाउनुका साथै खेलाडीलाई अभ्यासको थप अवसर र दर्शकलाई अनुकूल समयमा खेल हेर्ने सुविधा दिनेछ । रात्रिकालीन खेलकुद गतिविधिले आसपासका होटल, यातायात, खानपान तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने शिवसताक्षी नगरपालिका–८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले बताए ।

 

नगरप्रमुख थोप्राले निर्वाचनका बेला जनताको घरदैलोमा पुगेर आफू र आफ्नो पार्टीले खेलकुद क्षेत्रको विकासका लागि विभिन्न योजना प्रस्तुत गरेको स्मरण गरे । ती योजना क्रमशः कार्यान्वयन हुँदै जाँदा आत्मसन्तुष्टि मिलेको र नगरवासीको खेलप्रतिको उच्च मोहको सम्मान भएको उनको भनाइ छ । ‘जनतासँग गरेको वाचा यो पनि पूरा भयो भने कुनै प्रतिबद्धता बाँकी रहने छैनन्,’ उनले भने ।

 

दुधे रंगशालाको विकास पनि स्थानीय खेलप्रेमीको लामो प्रयासको परिणाम हो । करिब दुई दशकअघि सामान्य खेलमैदानका रूपमा रहेको दुधेमा स्थानीयले फुटबल खेल्दै आएका थिए । पछि भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय प्रतियोगिता र ए डिभिजन क्लब सहभागी दुधे गोल्डकप आयोजना हुन थालेपछि यसले फुटबल क्षेत्रमा पहिचान बनाएको हो । त्यसपछि व्यवस्थित रंगशालाका रूपमा विकास गर्ने प्रयास अघि बढेको थियो ।

 

शिवसताक्षी नगरपालिकाले २०७४ सालमा रंगशालाको गुरुयोजना तयार गरेपछि पूर्वाधार निर्माणलाई तीव्रता दिएको हो ।

स्थानीय सरकारको लगानी र खेलप्रेमीको सक्रियतामा मैदान स्तरोन्नति, स्थायी प्यारापिट, मञ्चलगायत संरचना निर्माण हुँदै आएका छन् । झापा महिला गोल्डकपजस्ता ठूला प्रतियोगिता आयोजना हुन थालेपछि दुधे रंगशालाले जिल्लाकै प्रमुख खेलकुद केन्द्रका रूपमा पहिचान विस्तार गरिरहेको छ ।

 

नगरपालिकाले अघि बढाएको फ्लडलाइट योजना कार्यान्वयन भए दुधे रंगशाना दिउँसो मात्र नभई राति पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिने सुविधायुक्त स्थल बन्नेछ ।

नगरप्रमुखको निर्वाचनकालीन प्रतिबद्धतालाई पूर्वाधार विकाससँग जोड्ने यो योजनाले खेलकुद, खेल पर्यटन र स्थानीय आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु