दमक/
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतबहादुर कार्की नियुक्त हुनु भएको छ । आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्नु भएको हो ।
कार्की नेकपा माओवादी केन्द्र, राप्रपा, जसपाका ६० सांसदको समर्थनमा मुख्यमन्त्री बन्नु भएको हो । प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका छन् ।
कार्कीले आजै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु भएको थियो ।

प्रदेश प्रमुख खापुङले पुस १७ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गर्नु भएको थियो । सोहीअनुरूप कार्कीले आज अपराह्न ४ः१५ बजे दाबी गर्नु भएको थियो ।
उहाँको सपथ ग्रहण भोली गराउने तयारी गरिएको छ ।

यस्तो छ कार्कीको राजनैतिक यात्रा
वि. स. २०२३साल असोज ११ गतेका दिन झापा जिल्लाको स्थित गौरादह नगरपालिका वडा नम्बर ३ मा पिता स्वर्गीय बमबहादुर कार्की र माता जानुकादेवी कार्कीको कोख बाट तेस्रो सन्तानका रुपमा हिक्मतकुमार कार्कीको जन्म भएको हो। अहिले उहाको परिवारमा आमा, दाजु-भाउजू, श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । उहाँको वाल्यकाल गौरादह मै वितेको र एस एल सि सम्मको अध्ययन स्थानिय जनता मा वि मा भएको थियो।
२०३६ सालको विध्यार्थी आन्दोलनमा सहभागीताः
विध्यालयमा अध्ययन गर्दै गर्दा अनेरास्ववियुमा संगठित भई विध्यार्थी राजनितीमा प्रवेश गर्नु भएको हो। पार्टी सम्पर्कमा भने २०३६ साल तिर मात्रै आउनु भएको थियो। महेन्द्र बहुमुखी क्याम्पस, धरानमा आई एल अध्ययन गर्ने उदेश्य राखी २०४२ सालमा धरान आउनु भएको थियो। आई एल को पहिलो ब्याजका रुपमा अध्ययन सकेर उच्च शिक्षाका निम्ति उहाँ नेपाल ल कलेज, प्रदर्शनी मार्गमा भर्ना हुनु भएको थियो। उहाले कानुनमा स्नातकोत्तर तह(एल एल एम) को अध्ययन पूरा गर्नु भएको छ। अनेरास्ववियुको विभिन्न तहका कमिटिहरुको नेतृत्वदायी भुमिका(क्याम्पस प्राक, जिल्ला कमिटी काठमाण्डु, बाग्मती अञ्चल कमिटी ) निर्वाह गर्दै उहाँ २०५५ सालमा केन्द्रिय अध्यक्षको जिम्मेवारीमा रहनु भयो। स्वतन्त्र विध्यार्थी युनियनको समेत नेतृत्व (सभापति- नेपाल ल क्याम्पस) सम्हाल्नु भएका कार्की विध्यार्थी विषेश जिल्ला कमिटिको सचिव, उपत्यका समन्वय कमिटीको सदस्य, मेची अन्चल समन्वय कमिटीको सदस्य हुँदै २०७१ सालमा सम्पन्न भएको नेकपा(एमाले) को नवौं रास्ट्रीय महाधिवेशन बाट केन्द्रीय कमिटीमा प्रवेश गर्नु भएको थियो। पार्टीको ५ रास्ट्रीय महाधिवेशन देखि स्वयंसेवकको केन्द्रीय कमान्डमा प्रदिप नेपाल, विष्णु रिमाल, बिनोद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, विन्दा पाण्डे संगै महत्त्वपूणर् भुमिकामा रहदै पर्यवेक्षक, प्रतिनिधि हुँदै केन्द्रिय राजनीतिमा रहनु भएको छ।
नवौं महाधिवेशन बाट केन्द्रीय कमिटीमा निर्वाचित भए पछी २०७१-२०७३ साल सम्म मेची अञ्चल समन्वय कमिटिको ईन्चार्जका रुपमा जिम्मेवारी बहन गरीसक्नु भएका कार्की संविधान अनुकुल संघीयता कार्यान्वयन गर्ने गरि पार्टीको प्रादेशिक संरचनामा संगठन रुपान्तरण गर्ने चरणमा प्रदेश संगठन कमिट,प्रदेश नम्बर १ को प्रचार विभाग प्रमुखको भुमिका कुशलता पुर्वक निर्वाह गरीसक्नु भएको छ।
२०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर५(१) बाट प्रत्यक्ष निर्वाचित कार्की प्रदेश नम्बर १ को स्थापनाकालीन मन्त्री परिषदमा आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा २०७४ फाल्गुन ३ गते जिम्मेवारी प्राप्त गर्नु भएको थियो।
करिव ३ वर्ष ७ महिना आन्तरिक मामिला तथा कानुन मन्त्रीका रुपमा सफल कार्यकाल सम्पन्न गरि २०७८ साल भाद्र १० गते सरकार बाट बाहिरिनु भएका कार्कीले ५७ वटा प्रदेश कानुन, दुई दर्जन भन्दा बढी नियमावली, कार्यविधि तर्जुमा गरि कानुन निर्माणका क्षेत्रमा महत्वपूणर् योगदान गर्नु भएको छ।
प्रदेशको शान्ति सुरक्षाका सम्बन्धमा प्रदेश प्रहरीहरुको क्षमता अभिबृद्दी, सस्थागत सबलिकरण, अधुनिकिकरण र पुर्वाधारको विकासमा महत्त्वपूणर् योगदान गर्नु भएको छ। सिमा सुरक्षा मजबुत नबने सम्म आन्तरिक सुरक्षा ब्यवस्थापन फितलो हुने कुरालाई महसुस गर्दै केन्द्रिय सरकार मातहतको सशस्त्र प्रहरी बल लाई समेत सबल र सक्षम बनाउदै लैजानु पर्छ भनेर सिमा सुरक्षाका निम्ति द्यइए निर्माण र थप गर्ने कार्यको समेत अगुवाई गर्नु भएको थियो। संचार क्षेत्रको समेत जिम्मेवारी लाई बोध गर्दै प्रादेशिक सन्चार प्रतिस्ठान स्थापना गरि समग्र सन्चार क्षेत्रको विकासमा समेत उहाको योगदान रहेको थियो।
देशका दुई ठुला कम्युनिष्ट पार्टीको एकता द्वारा निर्माण भएको नेकपाको केन्द्रिय कमिटि सदस्यका रुपमा रहनु भएका कार्की एमालेको दशौ रास्ट्रीय महाधिवेशन बाट केन्द्रिय कमिटी सदस्यका रुपमा निर्वाचित हुनुभएको थियो। उहाँ अहिले नेकपा (एमाले) को स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ को सह-ईन्चार्जका भुमिकामा हुनुहुन्छ ।









