अर्जुनधारा, मंसिर ५
झापाको अर्जुनधारा नगरपालिकास्थित कालिस्थानबाट चिसापानी हँुदै सालबारीबाट बुट्टाबारीसम्म जाने सडक कालोपत्रे बन्ने कुरा हरेक पटकको चुनावमा उठ्ने गर्छ ।
९.२ किलोमिटर लम्बाईको यो सडक निर्माण गर्नकालागि सरकारका तीन तहकै चुनावमा चुनावी एजेण्डा बन्छ । तर यसले पूणर्ता पाउँदैन ।
यो क्षेत्रबाट प्रतिनिधिसभाको सदस्यको रुपमा निर्वाचित भएर सभामुख बन्नु भएका देवराज घिमिरेकालागि पनि यो सडक निर्माण सम्पन्न गराउन हम्मे हम्मे परेको छ ।
पहिल्यै ठेक्का लागेको सो सडक निर्माण पक्षले समयका काम नगरेपछि अलपत्र बनेको थियो ।
निर्माण व्यवसायी महेश थापाले सरकारले काम गर्ने जिम्मा दिने तर बजेट भने नदिने गरेका कारण काम गर्न नसकिएको प्रतिक्रिया दिनुभयो ।
अघिल्लो पटक पनि कञ्चनजंगा कन्ट्रक्सन कम्पनीले नै निर्माणको जिम्मा पाएको थियो । तर समयमा काम सकेन । यो पटक पनि सोही कम्पनीलाई नै जिम्मा दिइएको छ । श्रोतको सुनिश्चितता भएर समयमा भुक्तानी भएको खण्डमा आफुले असार भन्दा अगाडि नै यो सडक निर्माण गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
९.२ किलोमिटर लामो यो सडक ड्रेन बाहेक ७ मिटर चौडाई कालोपत्रे हुने गरी काम भइरहेको छ । अहिले सदन बन्द रहेको समयमा आफ्नो निर्वाचन क्षेत्रमा भएका विकासका कामको स्थिती बुझ्न आउनु भएका सभामुख घिमिरेले निर्माण व्यवसायीलाई थुम्थुम्याउँदै भन्नु भयो ‘बजेटको जिम्मा मेरो भयो तपाईले समयमै काम सक्नुस् । काम सक्ने बित्तिकै भुक्तानी आउने छ । ’
यदि यो सडक कालोपत्रे हुने हो भने यहाँका उत्पादनहरु सहजै बजारसम्म पुग्न सक्ने थिए । विद्यार्थीहरुलाई विद्यालय जान, आउन सजिलो हुने थियो भने कोही बिरामी भएमा एम्बुलेन्सको सुविधा सहज ढंगले हुने स्थानीयबासीको अपेक्षा छ । यो सडक निर्माणकालागि २० करोड रुपैँयामा फेरि ठेक्का लगाइएको छ ।









