रतुवाई, पुस १२
परिवारमा एकजना मात्रै अपाङ्गताको शिकार भएको अवस्थाले त परिवारै पिरोलिन्छ । अपाङ्गता भएको व्यक्तिको सकसमा प्रत्येक पल प्रत्येक सदस्यलाई मुटुमा चस्स घोचिइरहन्छ । तर एउटा परिवारमा पाँच पाँचजना सदस्य अपाङ्गताको शिकार बन्नु सुन्दै कहालिलाग्दो लाग्छ ।
अझ उनीहरुलाई एक्लो व्यक्तिले हेरचार र पालनपोषण गर्नुपर्दाको समस्या ज्यादै ठूलो हो । त्यसमा पनि पाँचै जनालाई खाने र दिसापिसाव गर्ने कुनै चेतना नभएको र एकछिन मात्रै छिसिक्स छोड्दा ओछ्यानमै दिशापिसाब गर्ने त्यहीनै खाने, एकले अर्कालाई आक्रमण गरेर रगतपच्छे बनिहाल्ने अवस्थामा त झन कति आपत पर्ला । सम्झिदै मात्र पनि आङ् सिरिङ्ग हुन्छ र मन फत्रक्कै गल्छ ।
यस्तै नियति भोगिरहनु भएको छ दक्षिणपूर्वी मोरङको रतुवामाई नगरपालिका ८ दाम्राभिट्टास्थित सिक्किमे टोलकी सिर्जना ढुंगानाले । ५७ वर्षीया सिर्जनाले ४३ वर्षअघिबाट ३ जनाका लागि सुरु भएको यसखाले बुहार्तन ०५१ सालसम्म आइपुग्दा ५ जनामा पुग्यो । सिर्जनाकी दिदी कोकिलाको निधनपछि अपाङ्गताको शिकार भएका उहाँका ३ सन्तानको पालनपोषण तथा हेरचाहका कुरालाई दृष्टिगत गरी सिर्जनालाई १४ वर्षको उमेरमा २० वर्ष जेठा भिनाजु तुलसीरामसँग विवाह गरिदिएपछि यो खाले हविगतको श्रृंखला सुरु भयो । परिस्थितीले यतिसाह्रो ठग्यो कि दिदीका सबै सन्तान अपाङ्गताको शिकार भए भए, यता सृजनाका पनि तीन सन्तानमध्ये दुई जना उस्तै समस्या भएका जन्मिएपछि चाँही जिन्दगीमा ज्यादै ठूलो पीडा भोगाई थपियो । पाँचैजनाको बोली समेत छैन । जन्मजातै अतिसुस्तमनस्थितीको अवस्था छ । ‘यो पूर्वजन्मको हामी सबैको फल हो कि भन्ने पनि लाग्छ मलाई त । डाक्टरले जन्मजातै अति सुस्त अपाङ्गता भएको र उपचार सम्भव नभएको डाक्टरले बताउनु भयो ।’– सिर्जनाले भक्कानिँदै भन्नुभयो ।
दिदीपट्टीका ०३४ सालमा जन्मिएका निर्मल, ०३६ की निर्मला र ०३८ का उमेश । अनि सिर्जनापट्टी जन्मिएकी जेठी छोरी गीता भने सवलाङ्ग रहेर विराटनगरमा रहेको अवस्था छ । त्यसपछि जन्मिएका ०४९ सालकी पवित्रा र ०५१ की गोमाको हेरचाह र लालनपालनमा ज्यादै ठूलो संघर्षमा जीवन वित्दै गर्दा ०७७ मा मिर्गौलामा समस्याका कारण पति तुलसीरामको निधनपछि त जीवन झनै अन्धकार बन्यो । खेप्नै र भ्याउनै नसक्ने परिस्थिती वाद्यता बनेर शीरबाट थिचिरह्यो ।
निर्मल भनें त्यति हिँडडुल गर्न नसक्ने अवस्थाको भएपनि अरु बेसुरमै जताजता पनि हिँडिदिने र हराउने गरेको पीडाले युट्युबर भाग्य न्यौपानेको सहयोगमा घरको वरिपरी फलामको बार बनाई गेटमा ताला लगाइएको छ । झुप्रे घरको बिजोकमा थपिएका सदस्यहरुको अझ बिजोक अवस्था देखेर त्यो बेलाकी सांसद तथा उद्योगी राज्यलक्ष्मी गोल्छाले ०७० मा घर निर्माण गरिदिने भनी शिलान्यास गरेर फर्किएर नआएको अवस्था ‘हात्ती आयो हात्ती आयो फुस्सा’को नियति भयो । झुक्याइएको त्यो अवस्था समेत देखेर स्थानीय सूर्य गुरागाईंले ०७२ सालमा इँटाको गारो र टिनको छानो भएको ३ कोठे भूँईघर आफ्नो खर्चमा निर्माण गरिदिनुभयो । त्यसपछि टाउकामा पानी चुहिने अवस्था त अन्त्य भयो । तर पाँच सन्तानको हेरचाहमै ज्यादै कष्ठ भनें यथावत छ । उहाँले थप्नुभयो ‘ओत लाग्ने घर त भयो, तर यिनीहरुलाई म एक्लोले हेरचाह गर्न नै सक्ने अवस्था हुँदैन । यसमा सरकारले हेरचाह गर्ने व्यवस्था गरे हुने थियो ।’
त्यहाँ पहिले नै जोडेको धानखेत र घरसहितको १ विगाहा १ कठ्ठा जग्गा त छ । तर सबै ज्यालाका मानिस लगाएर बाली लगाउन र उठाउन निकै खर्चिलो हुने समस्या पनि छ । त्यसबाट खाने समस्या टर्दै आएपनि तुलसीरामको निधनमा लागेको ऋणले उस्तै सताउँछ । पाँचजनाको मासिक ४ हजारका दरले मासिक २० हजार भक्ता जम्मा हुने भएपनि उनीहरुले लगाएको लुगा दिनैपिच्छे च्यातेर फ्याक्ने, ओछ्याउने, ओढ्नेको अवस्था पनि उस्तै बनाउने भएकाले समस्यामै रकम सकिने अवस्था हुन्छ ।
ढुंगाना परिवारको कन्तबिजोकको अवस्था देखे सुनेर देश विदेशबाट सहयोग रकम समेत बेलाबखत आउने गरेको छ । त्यसरी आएको रकमलाई वचत गर्न वडाध्यक्षसहितका सामाजिक अगुवा सहभागि कोषमा ५ लाख रुपैयाँ त छ । तर सरकारले अपाङ्गता भएका र त्यसमा पनि योखाले कष्टकर दैनिकी भएकाको लागि हेरचाह गर्ने सहयोगीको व्यवस्थ ागर्ने कुरा कानुनी रुपमा कार्यान्वयनमा ल्याउन आवश्यक देखिने रतुवामाई ८ का वडाध्यक्ष पुष्पबहादुर कार्कीको धारणा छ । उहाँले आएको सहयोगको पनि उचित संरक्षण र सदुपयोग गर्दै हेरचाहको दिगो प्रबन्ध गर्न नै मुख्य आवश्यकता भएको औंल्याउनु भयो ।









