एजेन्सी, पुस २४
अमेरिकाको लस एन्जलसको जंगलमा लागेको डढेलो तीव्र गतिमा फैलिएर बस्तीतर्फ आएपछि त्यहाँको सरकारले आसपासका ३० हजार मानिसलाई अन्यत्र सार्न निर्देशन दिएको छ । नियन्त्रणको प्रयास भइरहेपनि आगो नियन्त्रण हुन नसक्दा ती क्षेत्रका मानिसहरु आफ्नो नजिक नजिक डढेलो आएपछि घर छोडेर भागेका छन् ।
२० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १ हजार २ सय एकडमा फैलिदैे बस्ती रहेको प्यासिफिक पालिसेड क्षेत्र नजिक आएपछि आपतकालिन अवस्था सिर्जना भएको दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले जानकारी गराउनु भएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
त्यहाँबाट ३० हजार मानिसलाई सुरक्षित सार्न निर्देशन दिइएको बताउँदै क्राउलीले वनको आगलागीबाट १३ हजार भवन जोखिममा रहेको उल्लेख गर्नुभयो ।
आगो अझै फैलिने खतरा रहेकाले सरकारले क्यालिफोर्नियामा लाखौँ मानिसहरूका लागि चेतावनी जारी गरेको छ ।









