दमक, माघ २४
आफूले यस्तो सन्तान जन्माउँछु भनेर सोचेपनि प्रकृतिले कस्तो सन्तानको जन्म दिन्छ भन्ने कुरा यकिन हुनसक्दैन । अनि जन्मका आधारमा फरकपन हुने अवस्थालाई विभेद गर्नु सामाजिक, मानवअधिकारको पाटोसँगै कानुनी अन्याय ठहर्छ ।
जन्मका आधारमा फरकपन भएकाहरुको हकमा नेपालमा सामाजिक विभेद व्याप्त छ । अनि कानुनी विभेद पनि कम छैन । जसमा तुलनात्मक हिसाबले हालसम्म अलि कम चर्चामा रहेकाको अन्तरलिङ्गीका व्यथा अझ गम्भिर लाग्छन् । सामान्यतः जन्मदै महिला र पुरुष दुबैखाले लिङ्ग भएका अर्थात अन्तरलिङ्गीका सवालमा भर्खरै केही कार्यक्रम अघि बढेका छन् । जस अन्तर्गत अन्तरलिङ्गीका पक्षमा वकालत गर्दै आएको संस्था ‘क्याम्पेन फर चेञ्ज’ले बिहीबार झापाको दमकमा संघ संस्थाका प्रतिनिधिहरुसँग अन्तरलिङ्गीका कथाव्यथा प्रस्तुत गर्दै यसबारे अभिमूखीकरण कार्यक्रम राख्यो । यतिसम्मकी पारिवारिक, सामाजिक बहिस्करणसहित परीक्षा हलबाट निकालिएको परिस्थितीसम्मका पीडा प्रस्तुत भए । संस्थाकी आउट्रिज अफिसर विमला श्रेष्ठले भन्नुभयो ‘लिङ्ग महिला लेखिएको तर पुरुष परीक्षार्थी रहेको भनेर क्याम्पसको परीक्षामा इसान रेग्मी नक्कली परीक्षार्थीको आरोपमा निस्कासनमा पर्नुभयो । यसखाले समस्या आफैंले भोगेपछि उहाँले नै अगुवाई गरेर यो संस्था खडा गर्नुभयो ।’ क्रोमोजोमको गडबढीका कारण उत्पन्न यसखाले शारीरिक समस्याका यी र यस्ता पीडाहरु सुनाउँदै समावेशीता र शारीरिक स्वायत्तताकालागि अन्तरलिङ्गीका आवाज एकजुट बन्नु पर्ने उहाँले जोड दिनु भयो ।
उहाँले पहिले एउटा लिंग जस्तो लाग्ने व्यक्ति हुर्किदै जाँदा अर्को लिंगको हुने परिस्थितीमा नागरिकता लगायतका कागजातमा अन्तरलिङ्गी नै उल्लेख हुनुपर्ने माग अघि सार्नुभयो । थप्नुभयो – ‘नागरिकता सच्याउने सवालमा पनि १ वर्षभित्र नभई जीवनमा एकपटक सच्याउने व्यवस्था होस् ।’ कार्यक्रममा सहजीकरणकै क्रममा श्रेष्ठले संस्थाले विभिन्न संस्थाको सहयोग जुटाएर अन्तरलिङ्गीहरुको अध्ययन र जिविकोपार्जनकालागि केही सहयोग प्रदान गरेको सुनाउनु भयो ।
संस्थाका भोलेन्टियर्स प्रेम थापाले कार्यक्रममा सहजीकरण गर्दै तेस्रो लिङ्गी भन्दा अन्तरलिङ्गी फरक रहेकाले फरकखाले पहिचान आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले सरकारका विभिन्न निकायले यस सवाललाई सुक्ष्म हिसाबले हेर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा सहभागि रिचमण्ड फेलोशिप मोरङका डीआइसी इञ्चार्ज जीवन नेपालीले अन्तरलिङ्गीले धार्मिक तथा सांस्कृतिक कार्यक्रम, पूजापाठ, काजक्रिया, शौचालयसहितमा भोग्नु परेका समस्याका बारेमा आफूले थाहा पाएको विवरण उल्लेख गर्दै त्यसलाई ठूलो सामाजिक विभेदका रुपमा चर्चा गर्नुभयो । उहाँले भन्नुभयो ‘सबभन्दा पहिले आफ्नै घरपरिवारबाट विभेद तथा घृणा सुरु हुन्छ । यस्तो जन्म रहरले भएको होइन, प्राकृतिक रुपमा समस्या भएको हो भन्नेसम्म नबुझेर घृणा गरेको देख्दा ताजुब लाग्छ ।’
कार्यक्रमका अर्का सहभागि एशिया फाउण्डेशनका कोशी प्रदेश संयोजक श्याम सापकोटाले आफ्ना सन्तती जन्मदै जाँदा यसखाले समस्या हुनसक्ने कुरामा सबै सचेत बन्नु र यस्तो समस्या भएमा सहज रुपमा लिएर जीवनयापनमा समान व्यवहार गर्न आवश्यक रहेको जनाउनु भयो ।
दैलेख, बर्दिया, काठमाडौं र मोरङमा संस्थाले काम गरिरहेको छ भनें संस्था जोडिएका जिल्लामा झापा, सुनसरी, सप्तरी, बारा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, बाग्लुङ, नवलपरासी, अर्घाखाँची, हुम्ला, कैलाली, डोटी र कञ्चनपुर रहेको उल्लेख छ । अन्तरलिङ्गीका फरकखाले पीडा भएकाले त्यही पीडामा रुमलिएकाहरुले सन् २०१७ मा संस्था खडा गरी अधिकार खोज्दै सचेतनामूलक कार्यक्रम अघि बढाउन थालेको छ । प्रत्येक १ सय जनामा २ जना मानिस अन्तरलिङ्गी जन्मिने गरेको विश्वको सरदर तथ्यांक छ ।









