बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने एक महिला कारोबारी पक्राउ परेकी छन् ।शनिबार साँझ ५ बजे बिर्तामोड ५ जिराइत टोलस्थित बाटोमा लागूऔषध ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको संयुक्त टोलीले मेचीनगर १५ ज्यामिरगढी स्थायी ठेगाना भई हाल बिर्तामोड ५ जिराईत टोलमा कोठा भाडा लिई बस्दै गरेकी ३६ वर्षीया पार्वता राजवंशीलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
शंका लागेर चेकजाँच गर्दा उनको साथबाट प्लास्टिकसहित २२ ग्राम २७० मिलिग्राम र प्लास्टिकबाहेक १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनी बसेको कोठामा समेत खानतलासी गर्दा लागूऔषधले लतपतिएको छुरी १ थान,कैची १ थान ,डिजिटल तराजु १ थान र नगद १३ लाख ३९ हजार रुपैयाँ बरामद भएको छ ।उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई अनुसन्धान भइरहेको जनाइएको छ ।










